एनसिबी र राहदानी विभागबिच समझदारी

अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबिच  आज उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

साथै उहाँहरुले समझदारी-पत्र आदानप्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटाबेसमध्ये एसएलटिडी (चोरी र हराएको यात्रा कागजात) डाटाबेस हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटाबेसलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा डब्लुआइएसडिएम (डाटा व्यवस्थापनका लागि इन्टरपोल वेबसेवा)प्रविधि इन्टरपोलका सदस्य राष्ट्रलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गर्नुभयो ।

साथै डब्लुआइएसडिएमलाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज सञ्चालन गर्दा राहदानी विभागको सिस्टममा एकीकृत गर्न सकिने राहदानी विभागको सुझाव अनुरुप नै समझदारी भएको उहाँले बताउनुभयो । महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्द गरिएका राहदानीको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटाबेसमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रक्रिया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबिचमा समेत समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।