नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा दुई प्रमुख दल मिलेर अगाडि बढ्न अठोट गर्दा स्वाभाविक रूपमा मानिसहरूमा प्रश्न उब्जिएको बताउनुभएको छ ।
मंगलबार दाङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले ठूला दल मिल्दा लोकतन्त्र कमजोर हुने हो कि भन्ने प्रश्न उब्जिएको बताउनुभयो । त्यस्तै कम्युनिष्ट नमिलेर कांग्रेससँग किन मिलेको भन्ने प्रश्न पनि रहेको उहाँले बताउनुभयो ।
मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि मिल्दै आएका पोखरेलले स्मरण गराउनुभयो । यति बेला नागरिकमा व्यवस्था प्रति नै एक खालको निराशा बढेकाले त्यसलाई चिर्न एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको बताउनुभयो । ‘जनतामा निराशा बढ्दो छ, सामाजिक अराजकता चुनौतीका रूपमा प्रकट भइरहेको छ, अब पुराना दल काम लाग्दैनन्, नयाँ दल चाहिन्छ भन्ने भाष्य खडा गर्ने कोसिस भइरहेको छ’, उहाँले भन्नुभयो ।
लोकतन्त्रमा प्रमुख राजनीतिक दल बिचको प्रतिस्पर्धा आवश्यक हुने भए पनि देश संकटमा पर्दा प्रमुख दल एक ठाउँमा उभिन आवश्यक रहेको उहाँको धारणा छ । ‘जनतामा भएको निराशालाई प्रमुख दल मिलेर तोड्नु पर्छ, आशा जगाउनु पर्छ, त्यसबाट मात्र हामीले लोकतन्त्रलाई जोगाउन सक्दछौँ’, उहाँले भन्नुभयो ।
नेपालमा जुन खालको अस्थिरता छ त्यसलाई तोड्नको लागि संविधानमा के कमजोरी भए र के सुधार गर्नुपर्छ भन्ने कुराको समीक्षा गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । यो काम ठुला राजनीतिक दल नमिली सम्भव नभएको कुरा बिर्सन नहुने पोखरेलले प्रष्ट पार्नुभयो ।
नेपालमा कम्युनिष्टहरु मिल्नु पर्छ, कम्युनिष्ट मिलेर सरकार बनाउनु पर्छ भन्ने कुराको व्यवहारिक अभ्यास पनि आफूहरूले गरेको उहाँले सुनाउनुभयो । तर त्यस फल हुन नसकेको पोखरेलले बताउनुभयो । प्रचण्ड सही बाटोमा हिँड्न नमान्दा नेकपा विभाजित भएका उहाँले बताउनुभयो । एक पटक भएको असफलतालाई फेरी दोहोर्याउनु हुँदैन भन्ने पक्षमा आफू रहेको पोखरेलले प्रष्ट पार्नुभयो ।
अब नेपालको वामपन्थी आन्दोलनलाई नेताहरूको टाउको जोडेर होइन कार्यकर्ताको मन जोडेर अघि बढाउनु पर्ने उहाँको राय छ । नेताको टाउको जोडेर गरिएको एकता असफल भइसकेको पोखरेलले बताउनुभयो । त्यसको लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभयो । बलिया राजनीतिक दल हुँदा मात्र यो सम्भव हुने उहाँको धारणा छ ।
अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा लगातार गठबन्धन भत्काउने काम भएको उहाँले बताउनुभयो । २ सय ७५ को संसद् भित्र १० सिटका नेतालाई प्रधानमन्त्री बनाउन कुराले कसरी देश बनाउन सक्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘त्यस अर्थमा अब नेपालमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल तर्फ लैजानु पर्छ, यसका लागि कसै न कसैले पहल लिनु पर्दथ्यो, आज नेपाली कांग्रेस र नेकपा एमालेले आँट गरेका छन्’, उहाँले भन्नुभयो ।
दलहरू बलिया हुँदा मात्र लोकतन्त्र बलियो हुन्छ भनेर नै कांग्रेस र एमाले मिलेका उहाँले बताउनुभयो । ३२ सिटेले ठुला राजनीतिक दललाई खेलाएर पाँचै वर्ष प्रधानमन्त्री खान्छु भनेर अभिव्यक्ति दिएपछि प्रमुख राजनीतिक दल मिल्न बाध्य भएको पोखरेलले सुनाउनुभयो ।
स्थायित्व र विकासको लागि बलिया राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको उहाँले बताउनुभयो । लगातार एउटै व्यक्तिले नेतृत्व गर्दा देशले प्रगति गरेको छिमेकका उदाहरण पोखरेलले उदाहरण पेस गर्नुभयो ।
आज नै हामी सफल भयौँ भन्ने भन्दा पनि ठिक बाटोमा आएका छौँ भन्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो । अहिले सफल हुने बाटो तर्फ आफूहरू उन्मुख भएको पोखरेलले सुनाउनुभयो ।