नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्की र विद्रोहको भाषा नबोल्न चेतावनी दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डको बङ्गलादेश बनाउने अभिव्यक्ति र विद्युत् प्राधिकरणको बक्यौता उठाउने विषयबारे प्रसङ्ग निकाल्दै यस्तो भाषा प्रयोग नगर्न चेतावनी दिएका हुन् ।
उनले माओवादीको च्याँखे दाउ मात्र भएको भन्दै जनताको म्यान्डेट विपरीत नबोल्न ‘फेर्ने भए सबै समितिका सभापति फेरौँ, जनताले दिएको म्यान्डेट केही होइन, अनि सत्ताबाट बाहिर निक्लने वित्तिकै बङ्गलादेश बनाउने ? बङ्गलादेश बनाएको त हामीले उही बेला देखेको हो नि सिंहदरबार कब्जा गर्न आउँदा पनि हेरेर ६ दिन चिउरा खाएर फर्केको थियो’, बास्कोटाको भनाइ छ । उनले एमाले कांग्रेस पनि नमरेको भन्दै आन्दोलनबाटै आएको बताए ।
‘उद्वेलित धेरै हुनुपर्दैन । एक जना सांसदले बोल्यो भने ट्रोल बनाउने ?’ बाँस्कोटाको प्रश्न छ । उनले सबैभन्दा धेरै समय माओवादी नै सरकारमा बसेको तर जस लिने तर अपजस नलिने प्रवृत्ति छोड्न चेतावनी दिए । उनले विद्युतको बक्यौता उठाउन रोक्ने प्रचण्ड नै भएको ठोकुवा गरे ।
राताेपाटीबाट