संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताउनुभएको छ । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताउनुभयो । उहाँले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने जिकिर गर्नुभयो ।
मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको सुरुवात कहाँबाट गर्नुपर्छ भन्ने कुरा बुझिसकेको बताउनुभयो । सत्य र निष्ठाबाट विचलित नभई नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने जानकारी उहाँले दिनुभयो ।
भाषाहरुको संरक्षण, संवर्द्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताउनुभयो । उहाँले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
यसैगरी, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मूल जरो उत्पादन भएको बताउनुभयो । उहाँले संस्कृति पनि भाषामै अड्किएको जिकिर गर्नुभयो । भाषा नरहे संस्कृति नरहने बताउनुहुँदै भाषा बिना संस्कृतिको मौलिकता हराउने उहाँको भनाइ छ ।