टी-ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो

फाइल तस्बिर

क्यानडामा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो ।

ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए ।

त्यसैगरी, रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।

ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन् ।

त्यसैगरी, कुशल मल्लले ३० रनको योगदान दिए । उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए । आसिफ शेख र अनिल शाहले समान २७/२७ रन बनाए । आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए । अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे ।

त्यस्तै, कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए ।

बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक/एक विकेट लिए ।

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो ।

नेपालले अब तेस्रो खेल मंगलबार क्यानडासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *