सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो । पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ ।
पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२ दशमलव सात मिलिमिटर र मोरङ्को केराबारी क्षेत्रमा ५२ दशमलव चार मिलिमिटर वर्षा भएको धरानस्थित मौसम पूर्वानुमान शाखा प्रमुख रुद्रबहादुर परियारले राससलाई जानकारी दिए ।
विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । धरानको सर्दु, खर्दु, सुनसरी खोला, इटहरीको बूढी खोला, खेसलियालगायत स–साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने, होचो भू–भागमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह गरेको हो।