अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० अलराउन्डरतर्फ वरीयतामा फड्को मार्दै दोस्रो स्थानमा उक्लिएका छन्।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज (बुधवार) जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले ४ स्थानको फड्को मारेका हुन्। यसअघि उनी छैटौँ वरीयतामा थिए।
वरीयताको शीर्षमा इङ्ग्ल्याण्डका अलराउन्डर लियाम लिविङस्टोन छन्। लिविङस्टोनको रेटिङ २५३ रहेको छ भने दीपेन्द्र उनीभन्दा ३ अंकले मात्र पछाडि छन्।
नेपालबाट अलराउन्डरतर्फ गुलशन झाले ११ स्थानको फड्को मार्दै ५३औँ स्थानमा उक्लिएका छन् भने कप्तान रोहित पौडेल पूर्ववत स्थानमा कायमै रहेका छन्। कुशल भुर्तेल पनि ६ स्थान उक्लिएर ६०औँ स्थानमा र कुशल मल्ल ४०औँ स्थानमा रहेका छन्।
ब्याटिङतर्फ दीपेन्द्र २ स्थान माथि उक्लिएर ४३औँ स्थानमा आएका छन्।
ब्याटिङतर्फ कप्तान रोहित एक स्थान तल झरेर ६१औँ र आसिफ शेख २ स्थान तल झरेर ७०औँ स्थानमा छन्। एक स्थान सुधार गरेका कुशल मल्ल एक सयौँ स्थानमा छन्।
बलिङतर्फ दीपेन्द्रले २३ स्थानको ठूलै फड्को मारेर ७०औँ स्थानमा उक्लिएका छ। सोमपाल कामी भने एक स्थान झरेर ९१औँ स्थानमा छन्।
टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा यथावत रहेको छ।