मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ ।
कोशी राजमार्गको बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सचर ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान तामाङको मृत्यु भएको हो ।