क्यानडाको ‘ए’ टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ ।
मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३–१ ले आफ्नो पक्षमा पर्न सफल भएको हो । नेपालका क्यानडा ‘ए’ विरुद्धको यो लगातार तेस्रो जित हो ।
ह्याट्रिक जितको लागि अन्तिम खेलमा क्यानडा ‘ए’ले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपाली टोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्नेछ । अमेरिकामा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्नेछ । जसअन्तर्गत नेपालले टी–२० श्रृंखलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सामना गर्नेछ । त्यसपछि नेपालले लिग–२ मा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने छ ।