नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनबीच अनेक ऐतिहासिक, गहिरो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् । उनले अब त्यस्तो सम्बन्धलाई दुई देशका जनताको तहमा विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध वृद्धि गर्न प्रस्ताव गरेका छन् ।
नेकपा (एमाले)को उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेका पोखरेलले चीनका विभिन्न स्थानमा आयोजित औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा यस्तो प्रस्ताव गरेका हुन् । पोखरेलको प्रस्तावमा चिनियाँ नेता तथा जनप्रतिनिधिहरुले त्यसतर्फ अघि बढ्न सकिने बताएका छन् ।
हुवई प्रदेश जनसरकारद्धारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘चीन र नेपालका सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले)बीच गहिरो ऐतिहासिक सम्बन्ध छँदैछ । अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी छ ।’
दुई देशका जनताबीच आत्मीय सम्बन्ध विस्तार गर्न गत हप्ता मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरेको भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गरेको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले महत्वपूर्ण योगदान गरेको पोखरेलले स्मरण गरे । उनले मित्रताको साक्षी इतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिकलगायतका ऐतिहासिक पक्ष रहेको स्मरण गरे ।
हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनियाँ कम्युनिष्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिव वाङ जोङलिङले चीन र नेपालबीच सम्बन्ध राम्रो र भविष्य उज्जव रहेको चर्चा गर्दै सम्बन्ध र सहयोग आदान प्रदानका अनेक क्षेत्र रहेको बताए ।
यसैगरी, हुवई विश्वबिद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सद्भाव प्रशंनीय रहेको स्मरण गर्दै चीनमा नेपाली विद्यार्थीले अध्ययन र विज्ञता हासिल गर्ने अनुकुल वातावरण बन्ने अपेक्षा गरे । विश्वविद्यालयका उपाध्यक्ष ल्यु चिहङले वैज्ञानिक शिक्षा विस्तारमा सहयोग आदानप्रदान भइरहेको चर्चा गर्दै भविष्यमा थप प्रगति हुने आशा व्यक्त गरे ।
भ्रमणका क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोलीले हुवई प्रदेशको ईन्सी नगरपालिकालगायतका स्थानहरुको अवलोकन गरेको थियो ।
नेपाली टोलीलाई चीनका विभिन्न तहका जनसरकारलगायत विभिन्न निकायहरुले स्वागत गरिरहेका छन् । टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछ । नेता पोखरेलले त्यहाँ आयोजित औपचारिक कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा उच्च स्तरीय भेटवार्तासमेत हुनेछ ।