१३ मंसिर, काठमाडौं । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको छ ।
लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो ।
उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।
लामिछानेलाई पछिल्लोपटक ९ मंसिरमा १५ दिन म्याद थप भएको छ ।
लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरू पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरूलाई छ ।
जिल्ला अदालत चितवनले ७ मंसिरमा रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसअघि काठमाडौंबाट समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो ।