प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ता हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र चीनको विदेश मन्त्रालयले शुक्रबार एकैसाथ प्रधानमन्त्री ओलीको भ्रमणको कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच उच्चस्तरीय वार्ता हुने जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि यही मङ्सिर १७ गते त्यसतर्फ प्रस्थान गर्नुहुँदै छ । सोही भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच उच्चस्तरीय भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति सीसँग दुई देशको सम्बन्धलाई नयाँ आयाम दिने गरी छलफल हुने सम्भावना छ । राष्ट्रपति सीको बहुआयामिक परिकल्पनाका रूपमा रहेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स परियोजनामा दुई देशको विकासलाई समृद्धिसँग जोडेर अगाडि बढ्नुपर्ने विषयमा अघिल्लो कार्यकालको भ्रमणमा भएका सहमति र समझदारीलाई कार्यान्वयनमा उतार्ने विषयमा पनि दुई उच्च नेतृत्वबिच छलफल हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमण र राष्ट्रपति सीसहित बेइजिङमा हुने उच्चस्तरीय वार्ताको तयारी उच्चस्तरमा भइरहेका दुई मन्त्रालयले प्रस्ट पारेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीको चार दिनको औपचारिक चीन भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र लीबिच द्विपक्षीय भेटवार्ता हुने कार्यसूची छ । सो भेटवार्तामा आपसी हित तथा दुई देशको सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै कार्यसूची अनुसार प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि छुट्टै भेटवार्ता हुने छ ।  चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा गर्दै  त्यहाँका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा यो भ्रमण हुन लागेको जानकारी दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले प्रधानमन्त्री ओलीको चारदिने भ्रमणका बारेमा जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री हुनुभएपछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो । छिमेकी मुलुकमा पहिलो औपचारिक भ्रमण गर्ने परम्परागत चलन अनुसार चीन सरकारको निमन्त्रणामा हुन लागेको यस भ्रमणलाई महìवका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई तयारी स्वरूप परराष्ट्रमन्त्री आरजु राणा बिहीबार चीन पुग्नुभएको छ । बेइजिङस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री ओलीको भ्रमणको तयारी तीव्र पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *