नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार दाङको तुलसीपुर–११ मालेडाँडामा श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा बोल्दै पोखरेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देश बनाउने मान्छे भएको बताउनुभयो । ‘देश बनाउने हो भने देश बनाउने मान्छेलाई प्रोत्साहन गर्नुपर्दछ, यो कुरा सुन्ने कुरा मात्रै होइन, काम गर्ने मानिसलाई सम्मान गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।
उहाँले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताउनुभयो । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गर्नुभयो । यस्ता काममा तीनवटै तहका सकारको सहकार्य आवश्यक रहेको पनि पोखरेलले स्पष्ट पार्नुभयो ।
विकासका हरेक काममा स्थानीय समुदायका भूमिका महत्त्वपूर्ण हुने पोखरेलले बताउनुभयो । बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलले स्पष्ट पार्नुभयो । स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने पोखरेलले बताउनुभयो । ‘राम्रो बनाउने कुरामा स्थानीय जनताकै महत्पूर्ण योगदान रहन्छ’, पोखरेलले भन्नुभयो ।
पोखरेलले पश्चिम दाङमा सबैभन्दा बढीले लिने नाम श्रीमणि आचार्य भएको स्पष्ट पार्नुभयो । उहाँको नाम आफ्नै कामले जीवन्त रहेको पोखरेलले धारणा राख्नुभयो । उहाँको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको पोखरेलले स्पष्ट पार्नुभयो ।