शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । साथै, कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सह–कुलपति विद्या भट्टराई समुपस्थिति हुने उपकुलपति प्रा.डा. वेदराज केसी जानकारी दिनु भयो ।
उक्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित हुनेछन् भने ३० जना विद्यार्थीलाई विशिष्ट पदक र ७ सय ४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मानित गरिने विश्वविद्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
पोखरा विश्वविद्यालयमा समयानुकूल पाठ्यक्रम परिमार्जन, एकेडेमिक क्यालेन्डर अनुसार तोकिएको मितिमा नै भर्ना, परीक्षा र परीक्षाफल प्रकाशन गर्ने प्रक्रियाले विद्यार्थीहरूको आकर्षण बढाउन सफल भएको विश्वविद्यालयको भनाई छ ।
यसको प्रमाण स्वरूप गत वर्षको तुलनामा ३८ प्रतिशतले विद्यार्थी सङ्ख्या वृद्धि भएको देखिन्छ । विश्वविद्यालयले रोजगारी उन्मुख, बजारको माग अनुरूप उत्पादनमूलक र प्रविधि आधारित पाठ्यक्रम लागु गर्ने साथै शैक्षिक क्यालेन्डर अनुसार परीक्षा सञ्चालन र तीन महिनाभित्र नै परीक्षाफल प्रकाशन गर्ने निरन्तरता कायम राखेको छ । यी प्रयासले विद्यार्थीहरूमा विश्वविद्यालयप्रति विश्वास र आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ विज्ञप्तिमा उल्लेख छ ।
पोखरा विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपमा १५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आइरहेको र विश्वविद्यालयले शिक्षा, अनुसन्धान र समुदाय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको जनाएको छ ।
हाल देशभर रहेका विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पस, ३ वटा संयुक्त आंगिक क्याम्पस तथा ५८ वटा सम्बन्धन प्राप्त कलेजहरूमा ६८ वटा कार्यक्रम सञ्चालनमा रहेका छन्, जसमा हाल करिब ४० हजार विद्यार्थी अध्ययनरत छन् ।