केपी ओली कप फुटबल च्याम्पियनसिप प्रतियोगिताको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगितामा पछिल्लो दुई संस्करणको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम एनआरटी, संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजक टोली केपी ओली एफसीले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको क्वार्टरफाइनलसम्मका खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदान तथा सेमिफाइल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताका दौरानमा इटालीका गोलरक्षक खेलाडी जियानलुजी बुफोनको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।