राजतन्त्रको अकर्मण्यताले देश पछाडि परेको थियो : महासचिव पाेखरेल

 नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा भरोसा गर्ने पार्टीहरू देश र लोकतन्त्र प्रति चुनौती आउँदा एक ठाउँमा उभिनु स्वाभाविक भएको बताउनुभएको छ ।

नेकपा एमाले वाग्लुङद्वारा आयोजित वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस र एमाले मिल्नुको उद्देश्य राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि भएको बताउनुभयो । ‘चुनौतीलाई सामना गर्न लोकतन्त्रमा विश्वास गर्ने दलहरू मिल्नु स्वाभाविक थियो, हामी अहिले मिलेका छौँ’, उहाँले भन्नुभयो ।

नेता र पुराना पार्टीलाई गर्नु भन्दा पनि पुराना पार्टीलाई काम गर्ने अवसर दिनु पर्ने बताउनुभयो । जसले आन्दोलनको नेतृत्व गरे ती राजनीतिक दलले देशमा सरकार चलाउन नै नपाएका उहाँको भनाइ छ । ‘यो मुलुक राजतन्त्रको अकर्मण्यताको कारणले पछाडि पर्‍यो, उसको स्वार्थी व्यवहारको कारण आज हाम्रो मुलुक पछाडि पर्‍यो’, पोखरेलले भन्नुभयो ।

अहिले एउटा स्वार्थी जमात फेरि राजा आऊ देश बचाउ भन्दै नारा लगाएर हिँडेको पोखरेलले बताउनुभयो । जुन राजाले यो मुलुकलाई यो हालतमा पुर्‍यायो, फेरि राजा आऊ देश बचाउ भन्ने मूर्खहरू भएका उहाँको टिप्पणी छ ।

नेपालमा हिंसात्मक राजनीतिलाई अगाडि बढाउने कुरामा राजतन्त्रको पनि हात रहेको उहाँले बताउनुभयो । माओवादीलाई राजतन्त्रले उक्साएर राजनीतिक दलहरू विरुद्ध प्रयोग गरिएको उहाँले प्रष्ट पार्नुभयो । नेपाली राजनीतिलाई हिंसामा होम्ने र जातजातिका नाममा अस्थिरता मच्चाउने काम राजतन्त्रको आडमा माओवादीले गरेको उहाँको भनाइ छ ।

नेपालमा नीतिका आधारमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उहाँले बताउनुभयो । देशलाई अब दुई ध्रुवमा विभाजित गर्नुपर्ने र त्यसको लागि बलिया दुई राजनीतिक दल आवश्यक रहेको उहाँको धारणा छ ।

देश बनाउने हो भने आँट र सामर्थ्य भएको नेता आवश्यक पर्ने उहाँले बताउनुभयो । त्यो आँट र सामर्थ्य नेकपा एमालेका अध्यक्ष एवं वर्तनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको पोखरेलले दाबी गर्नुभयो ।