निर्मलाकाे ‘हाट’ विमाेचन

‘हाट’ नेपाली साहित्यको एक सिर्जना आज नेपाली साहित्यमा नयाँ विषयवस्तु र शब्दका साथ थपिएको छ । आज नेपालगन्जमा साहित्यकार निर्मला के.सी. ‘बीएम’ ‘हाट’ उपन्यास विमोचन भएको छ ।

नेपालको कर्णाली क्षेत्रको पहाडी जीवनशैली, किनबेचसँग संस्कृति, परम्परा र संस्कारसँग जोडिएको भोगाईको आधारमा यथार्थपरक विषयवस्तु आधारित उपन्यास ‘हाट’ को आज नेपालगन्जको पुरानो पुस्तकालय महेन्द्र पुस्ताकालयमा विमोचन भएको छ । यस क्षेत्रका अब्बल साहित्यकारको जमघटमा सो उपन्यासको विमोचन भएको हो ।

सल्यान जिल्लामा जम्मेहुर्केका साहित्यकार ‘बीएम’ को यो कृति ‘हाट’ जाने विषयवस्तुकै सरोफेरोमा आधारित भएर सिर्जना भएको छ । यस उपन्यासले विकास नहुँदा पहाडी क्षेत्रका नागरिकले जनेस्या हाट र नुने हाटका माध्यमले दैनिक जीवनमा खाँचो पर्ने सलाई देखि कपडा सम्म र नुनदेखि सुन सम्मको किनमेलका लागि भोगेका भोगाइमा आधारित छ । यस उपन्यासले यातायातको विकासको अभावमा नुनका लागि पाउने दुख कष्ट देखि सुठो, अदुवा, घीउ, माट्या लगायतका किसानले उत्पाद गरेका वस्तुको विनिमयबाट आफुलाई चाहिने कपडा, नुन सुनको किनमेलको लागि पाउने दुख सुखमा आधारित रहेको समीक्षकले जानकारी दिनु भयो ।

उपन्यास विमोचनमा आफ्नो धारण राख्दै साहित्यकार सनद रेग्मीले नेपाली पहाडी जीवनशैली र परम्पराको ताजा दस्तावेज यो उपन्यास ‘हाट’ को विषयवस्तुले जिवन्त उतारेको बताउनु भयो । उहाँले पश्चिम क्षेत्रमा भारतमा र सीमा क्षेत्रमा रहेका हाटबजारहरु समेत यही हाट परम्पराबाट नामाकरण भएको बताउनु भयो । यसैगरी सिर्जना कला साहित्य प्रतिष्ठानका अध्यक्ष शसिराम कार्कीले यो उपन्यास विगतको जीवनशैली, इतिहास र भाषा संरक्षणका लागि अब्बल रहेको बताउनु भयो । यहाँ प्रयोग भएका शब्दहरु ठेट नेपाली खस भाषामा प्रयोग हुने शब्द रहेको पनि बताउनु भयो । यसैगरी उपन्यासका बारेमा डिल्ली बिसीले यो तत्कालिन तर सडकसंजालको विकासले ताजा इतिहास ‘हाट’ र यसको पेरीफेरीको भोगाईलाई उपन्यासले सहज सरल रुपमा समेटेको बताउनु भयो ।

कार्यक्रममा साहित्यकार ‘बीएम’ ले उपन्यासको परिकल्पना देखि पुस्तककार बनाउदा सम्मका सबै भोगाईका बृतान्त सुनाउनु भयो । यो उपन्यास सिर्जनमामा जन्मभुमीको स्नेह, परम्पराको भाविपुस्तामा जानकारी हस्तान्तरण र मनका बह पाठक सामु ल्याएको बताउनु भयो । प्राज्ञ सदस्य महानन्द ढकाल, जीतबहादुर शाह लगायतका साहित्यकारले उपन्यासका बारेमा चर्चा गर्नु भएको थियो । उपन्यास अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो । यो १५८ पृष्ठको छ ।