नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ ।
केहीबेरअघिदेखि विद्युतीय मेसिनबाट मतदान सुरु भएको हो । निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।
नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एक जना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएकी छन् ।
महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।
कीर्तिपुरमा जारी २४औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन हुन लागेको हो ।