बाँकेमा सुरक्षा सर्तकताका सबै उपाय अबलम्बन

१० मंसिर, नेपालगन्ज । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित बाँके प्रहरीले सुरक्षा सतर्कता तीब्र पारेको छ । बाँके प्रहरीले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी अघि बढाएको छ ।
मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको मतदानका लागि बाँकेमा ३२७ मतदान केन्द्र र १३६ मतदान स्थल निर्धारित गरिएको निर्वाचन कार्यालय नेपालगन्ज सूचना अधिकृत काशिलाल अधिकारीले बताउनुभयो । उहाँले जिल्लामा ६८७ निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिनुभयो ।


असुरक्षाको हिसाबले बाँकेमा १२६ वटा स्थानलाई इंगित गरिएको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङ्गले बताउनु भयो । ‘मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुन्छ’, उहाँले भन्नुभयोे, ‘नेपाली सेना, सशस्त्र प्रहरी, म्यादी र नेपाल प्रहरीले फरक फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन् ।’ संवेदनशील मानिएका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने, र निगरानीको विशेष ब्यवस्था गर्ने सुरक्षा तयारीहरु पूरा भएका छन् । बाँके भौगोलिक हिसाबले केहि स्थानमा जटिल देखा परेकोले सो स्थानका लागि मतदान अघि नै सुरक्षा बल परिचालन गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यसअघि विवाद हुँदै आएको, आपराधिक क्रियाकलापमा संलग्नताको आधारमा र भौगौलिक कठिनालाई सुरक्षा संवेदनशीलताको कारणको रुपमा लिँदै बाँके प्रहरीले सो बारे अघि नै प्रभावकारी तयारी गरेको एसपी तामाङ्गले बताउनु भयो ।
निर्वाचन र मतदानको अवधिमा जिल्ला भरि १ हजार ६ सय ८८ जना म्यादी प्रहरी परिचालित छन् । ‘करिब १० मिनेटमै हामी सुरक्षा स्थिति कुनैपनि हालतमा सम्हाल्न सक्ने रणनीति बनाएका छौं ।
‘यद्यपि बाँकेको स्थित अन्डर कन्ट्रोल नै छ’, तामाङ्गले भन्नु भयो , ‘बाँकेको हकमा अवैध हतियार चुनौतीको रुपमा देखा परेको छ ।’ ‘हामी त्यस्ता हतियारहरु नियन्त्रणमा लिने अभियान चलाएका छौं’, पछिल्लो ६ महिना भित्र ८ वटा अवैध हतियार प्रहरीले बरामद गरेको छ ।
मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको मतदानका बाँके प्रहरीले जिल्ला भरि १० दिन अगावै मदिरा बेचविखन, सेवन र ओसार पसारमा नियन्त्रण लगाउँदैछ । निर्वाचन र मतदान अवधि लाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मदिर निषेध बाञ्छनीय देखिएकोले सो तयारी गरिएको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङ्गगले बताउनु भयो ।
झैंझगडा, अशान्ति, हूल हुज्जतमा मदिराको भूमिका हुने गरेकोले बिक्री वितरण, सेवन र ओसार पसार समेत नियन्त्रण गर्न लागिएको हो । ‘निर्वाचन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मदिरा नियन्त्रण आवश्यक देखियो ।’
जनताको हातमा रहेका वैधानिक हतियार प्रहरीले पूर्ण रुपमा संकलन गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार बाँके भित्र जनताको हातमा लाइसेन्स सहित ५४८ वटा हतियार छन् । निर्वाचन शान्तिपूर्ण र मर्यादित बनाउनका लागि हतियार संकलनको काम हुने गरेको छ । सो क्रममा बाँके प्रहरीले २९० वटा हतियार संकलन गरेको जनाउनु भयो ।
कुल हतियार मध्ये १३६ वटा सशस्त्र द्वन्द्वमा लुटिएको, १०० वटा बाहिरी जिल्लामा सरेको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङ्गले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *