राकेश कुमार मिश्र
१० मसिर, नेपालगन्ज । मधेशी तथा मुस्लिम समुदायमा स्वास्थ्य सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रममा जोड दिइएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा जानकी गाउँपालिका अन्र्तगत खजुराखुर्द स्वास्थ्य चौकीमा आज गरिएको सामाजिक परिक्षण कार्यक्रमका सहभागिहरुले उक्त समुदायमा स्वास्थ्य सचेतनाको अभावमा बच्चाहरुलाई खोप नलगाएको, समयमा गर्भवती जाँच नगराएको जस्ता जटिल समस्या रहेको बताइयो ।
समुदायमा निस्वार्थ भावनाले काम गरिरहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई पैसा पाउने आरोप लगाउदै समुदायका नागरिकले आफ्ना बच्चाहरुलाई समयमा खोप नलगाउने, आमा समूहको बैठकमा बोलाउदा उपस्थित नहुने, समयमा गर्भवती जाँच गराउन नआउने जस्ता समस्या उत्पन्न भएको बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य चौकीका अनमी विन्दु विकले स्वास्थ्य संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरुका बारेमा जानकारी गराउनु भएको थियो । त्यस क्रममा स्वास्थ्य संस्थाले प्रदान गर्ने प्रसुती सेवा, खोप, स्वास्थ्य शिक्षा, औलो मलेरिया, परिवार नियोजन सेवा, ओपीडी सेवा, जेष्ठ नागरिक सेवा, लगायतका विषयमा चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको चौमासिक प्रगति प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत सेवा तथा प्रगतिका विषयमा छलफल गर्दा समुदायमा खोप कार्यक्रम, आमा समुह बैठकको व्यवस्थापन, प्रसुती सेवा केन्द्रको स्थापना, विरामी सेवाग्राहीका लागि प्रतिक्षालय निर्माण गर्ने, मधेशी मुस्लिम समुदायलाई लक्षित गरी चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र गाउँघर किल्निक भवन निमार्णका लागि जग्गा खोजी गर्ने जस्ता ६ बुदे कार्ययोजना तयार गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष विश्रामकुमार बर्माले २० वर्षदेखि जनप्रतिनिधी विहिन स्थानीय तहमा निर्वाचित भएपछि स्वास्थ्य लगायतका थुप्रै समस्या रहेकाले काम गर्न जटिल भएको भन्दै पाँच वर्षभित्र योजना तयार गरि प्रभाकारी कार्य गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले समुदायमा स्वास्थ्य चेतनाका लागि हामी जनप्रतिनिधीहरुले स्वयम् लाग्नुपर्नेमा जोड दिदै स्थानीय तहबाट प्रदान हुने सेवाको गुणस्तरियता तथा प्रभावकारिता अभिबृद्धि गर्ने बताउनुभयो ।
जानकी गाउँपालिकाका स्वास्थ्य प्रमुख गिर बहादुर गुरुङ्गले स्वास्थ्य संस्थाहरुमा सामाजिक परिक्षणको कार्यले सुशासनमा मद्दत पुगेको बताउदै समुदायका नागरिक तथा सेवा प्रदायक निकायका कर्मचारीहरुको व्यवहार परिवर्तन गरी नमूना समुदाय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा सदस्य सहदत्त शेष, जानकी गाउँपालिकाका खरिदार मित्रलाल पौडेल लगायतले स्वास्थ्य सेवाका विषयमा आ–आफ्नो सुझाय राख्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य संस्थाको सामाजिक परिक्षणको उद्देश्य, महत्व लगायतका विषयमा समेत जानकारी गराउनु गराइएको थियो । कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वयम्सेविका, सेवाग्राही, अगुवा कर्मचारी लगायतको सहभागिता रहेको थियो । बाँके युनेस्को क्लबले बाँकेले उदयपुर, खजुराखुर्द स्वास्थ्य संस्थाको सामाजिक परिक्षण कार्य सम्पन्न गरिसकेको बाँके यनेस्को क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले बताउनुभयो ।