नेपालगन्ज : बाँकेको एक तिहाई भुभाग ओगटेको राप्ती पारीको बघौडा भनेर चिनिने क्षेत्र विकासका दृष्टिकोणले पिछडिएको क्षेत्र हो । प्रतिनिधी सभा क्षेत्र नं. १ अन्तर्गत पर्ने यस क्षेत्रमा ९८ हजार ३ सय २० मतदाता छन् । वर्षाैदेखि सदरमुकाम नेपालगन्ज जोड्ने बाटो, बिजुली बत्ति र राप्ती नदिको कटान एवं डुबान नियन्त्रणको पर्खाइमा रहेका बघौडाबासीहरु निराश छन् ।
आसन्न निर्वाचनका उम्मेदवारहरुले दिएका आश्वासनलाई उनीहरु पत्याउन सकिरहेका छैनन् । यसैगरि उनीहरुको प्रमुख समस्या मध्ये एक बाढि र डुबानको समस्या समाधानको एजेण्डा दल तथा उम्मेदवारले प्राथमिकतामा नराखेको भन्दै उनीहरु सशंकित छन् ।
सुगम जिल्लाको दुर्गम भनेर चिनिने बाँकेको राप्तीपारी अर्थात बघौडाका जनताले कयौँपल्ट आफ्नो अमुल्य मत दिएर मन्त्री सम्म जन्माए । मत दिँदा उनीहरुको आशा हुन्थ्यो अब राप्ती नदि नियन्त्रण गरिन्छ, सदरमुकाम पुग्ने सजिलो बाटो बन्छ र बिजुलीको उज्यालोमा बालबच्चाले पढ्न पाउँछन् ।
यी बाहेक अन्य समस्याहरुको चाङ त उनीहरुका सामु छँदै छ । तर उनीहरुको त्यो आशा निराशामा परिणत भइसक्यो । निराशामै रहेका बेला अहिले प्रदेश र प्रतिनीधी सभाको चुनावमा भोट माग्दै घरदैलोमा पुगेका छन् नेताहरु । नेताहरुले अहिले पनि वर्षाैदेखि उनीहरुकै कारणले अलपत्र परेका योजनाहरुलाई पुरा गर्छौँ भनेर भोट मागिरहेका छन् । पटक–पटक एउटै आश्वासनले वाक्क भएका बघौडाबासीहरु अहिले भोट माग्नेहरुले पनि विकास गर्लान भनेर पत्याउँदैनन् । स्थानीय मायाराम मौर्य भन्छन्, ‘नेताहरुले विकास गर्लान् भनेर कत्ति विश्वास लाग्दैन, कतिलाई भोट दिनु ? यो ठिक छ भनेर भोट दिइयो उसले फर्केर पनि मुख देखाएन ।’
वर्षातमा बाढिले बगाउने डर छ । सरमुकामसम्म पुग्ने भरपर्दाे बाटो छैन । निर्माणाधिन पुर्वाधारहरु पुरा नहुँदै भग्नावशेष बनेका छन् । २०२४ सालमा नक्शांकन भएको हुलाकी राजमार्ग अहिले पनि निर्माणाधीन नै छ । राप्ती सोनारी र नरैनापुर गाउँपालीकाका बिनौना, बैजापुर र फत्तेपुरका केहि भाग र खासकुस्मा विद्युत बिहिन छन् ।
२०५२ सालमा पोल गाडिए पनि अझै तार टाँगिएको छैन । विद्यालय र शिक्षक त छन तर शैक्षिक स्तर नाजुक छ् । महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक पेशकार सिंह भन्छन्, –‘नेता त घर घरै छन् तर नियत खराब छ, अहिलेको समय आशावादी हुने समय हो तर इतिहास हे¥यो भने शंका लागिहाल्छ ।’
राप्तीपारीका जनताको अर्काे मुख्य समस्या राप्ती नदिको कहर हो । सदरमुकाम नेपालगञ्जबाट करिब १० किमि पूर्वमा बहने राप्ती नदीले वर्षेनी किनारका होलिया, गंगापुर, मटेहिया, फत्तेपुर लगायतका दर्जनौं गाउँ डुबानमा पार्छ । भारतद्वारा अन्तराष्ट्रिय सन्धी विपरित निर्मित लक्ष्मणपुर बाँध एवं साढे २२ किलो मिटर लम्बाई, ५ मिटर चौडाई र ५ मिटर उचाई रहेको कलकलवा मर्जिनल तटबन्धका कारण गन्धैली, सुतैया र डुडुवा नालाको बहाव रोकिन्छ ।
तिनै बाधले राप्ती वारिपारिका बस्ती अनि हजारौं बिघा खेतीयोग्य जमिन डुबान, पटान र कटान हुन्छ । स्थानीयहरु वर्षेनी खाद्य संकट ब्यहोर्छन् । अहिले भोट मागिरहेका नेताहरुले यो समस्यालाई ऐजेन्डा नबनाएको भन्दै स्थानीयहरु अझ सशंकित बनेका छन् । ‘तटबन्धको मुद्धा प्रतिबद्धता पत्रमा राखेनन्’ लक्ष्मणपुर बाँधपिडित संघर्ष समितीका सचिव राजुकमार शुक्ला भन्छन् – ‘म फलानो पार्टिको उम्मेदवार मलाई भोट दिनुस भन्दै हिडेका छन् ।’
भारतले बनाएको अन्तराष्ट्रिय नियमविपरितको बाँधविरुद्ध स्थानीय र विभिन्न संघ संस्थाले निरन्तर आवाज उठाईरहेका छन् । अधिकारकर्मी सत्य तोयना दल तथा उम्मेदवारले यो विषयलाई प्राथमिकतामा राख्नु जनतालाई भ्रममा राख्ने खेल भएको बताउनछन् । ‘यो विषय जनताले प्रत्यक्ष महसुस गर्ने विषय हो, भोली जनताले के ग¥यौ भनेर सोधे भने उनीहरुलाई सकस पर्छ’ –तोयनाको तर्क छ ।
वर्षाैदेखि विकासको पर्खाइ र बाढिको कहरले थाकेका बघौडाबासीहरु यतिखेर आफ्नो निराशालाई आशामा परिणत गर्न सक्ने व्यक्तीको खोजिमा छन् ।