नेपालगन्ज–प्रदेश नं. ५ को राजधानी बाँके जिल्लामा बनाउन दबाब दिने उद्देश्यले गठन भएको संघर्ष समितिलाई आन्दोलन तार्किक निष्कर्षमा पु¥याउन सुझाव दिइएको छ । संघर्ष समितिको पुर्व निर्धारित कार्यक्रम अनुसार जनप्रतिनिधिको ऐक्यवद्धता कार्यक्रममा सहभागि बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका नेताले राजधानीका लागि अन्य जिल्लासँग पनि समन्वयका लागि आग्रह गरेका हुन् ।
प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशको राजधानी निर्धारण गर्ने भएका कारण अन्य जिल्लाका प्रदेश सांसदसँग समन्वय गर्न ढिलाई गर्न नहुनेमा सहभागीको भनाई थियो । बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायले बाँके राजधानीका लागि छिमेकी जिल्लासँगै अन्य जिल्ला जिल्लालाई साथमा लिएर जानुपर्ने बताउनुभयो । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वरजंग गहतराज र बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद ईस्तियाक राईले बाँके राजधानीका लागि पर्याप्त स्रोत र साधन भएको भन्दै राजधानीका लागि सवैपक्षको साथ लिनुपर्ने सुझाव दिनुभयो । प्रदेशसभा सदस्य आइपी खरेलले बाँके राजधानीका लागि सबैपक्ष प्रयासरत रहेको भन्दै विकल्पसहित जान सकिने तर्फ ध्यानाकर्षण गराउनुभयो ।
बाँके राजधानी संघर्ष समितिका संयोजक एवम् एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले बाँके राजधानीका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।