आदर्श माविको नाममा रहेको अधिकाँश जग्गा अतिक्रमणमा

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझामा रहेको आदर्श माविको नाममा रहेको अधिकाँश जग्गा अतिक्रमणमा परेको छ ।

विद्यालयले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी अतिक्रमित जग्गा खाली गराउन सहयोग गर्न सबैमा आग्रह गरेको छ । विद्यालयका प्राचार्य प्रकाश आचार्यका अनुसार,  गायत्रीनगरमा ३ विघा ७ कठ्ठा १४ धुर रहेकोमा करिब ४ कठ्ठामा  भवन र शौचालय निर्माण भएको छ भने अधिकाँश जग्गा अतिक्रमणमा परेको छ ।

यसैगरी  गयनपुरको एउटा कित्ताको ११ कठ्ठा १६ धुर र अर्को कित्ताको  एक बिघा ७ कठ्ठा १५ धुर जग्गा पनि अतिक्रमणमा परेको छ ।   आदर्श माविको नाममा ७ बिघा बढि जग्गा भएको भएपनि हाल राझामा  ६ कठ्ठा १२ धुरमा विद्यालय संचालनमा रहेको छ । राजमार्ग र विमानस्थल जाने बाटोको छेउको विद्यालय भएका कारण दुर्घटनाको जोखिम बढि रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश बर्मा (चिन्टु)ले जानकारी दिए ।

पत्रकार सम्मेलनमा कुरा राख्दै वडाअध्यक्ष,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्राचार्य।

वडा नं.२० का वडाध्यक्ष कृष्ण कार्कीले अतिक्रमित जग्गा खाली गराउन खोज्दा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँगै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले सहयोग नगरेको बताउनुभयो ।

वडा कार्यालयले अतिक्रमण हटाउन सूचना जारी गरेको भएपनि हिजो विद्यालयको नाममा रहेको खाली जग्गामा खेलमैदानका लागि जेसिभी लगाएर सम्याउन खोज्दा अवरोध भएको र प्रहरी,प्रशासन र उपमहानगरपालिकाबाट सहयोग नपाएको कार्कीले गुनासो गनुभयो ।

वडा अध्यक्ष कार्कीले विद्यालयको नाममा गायत्रीनगरको जग्गा अतिक्रमित गर्ने मध्ये अधिकाँशको अन्यत्र सम्पत्ति रहेको बताए । रात्री बस र अन्य स्थानमा ४–५ विघा जग्गाका मालिक भएकाहरु पनि राझामा सुकुम्बासीका नाममा  विद्यालयको जग्गा अतिक्रमण गरेर बसेका छन्,– वडा अध्यक्ष कार्कीले भन्नुभयो,– तर विद्यालयका लागि अहिलेको स्थान सांघुरो भईसकेको छ । गायत्रीनगरमा हाल ८२ जनाले विद्यालयको नामको जग्गा अतिक्रमण गरेका छन् ।  आदर्श माविलाई बहुमुखी क्याम्पस बनाउने तयारी गरिएपनि जग्गा अतिक्रमणमा परेकै कारण समस्या उत्पन्न भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बर्माले बताए ।  २००९ सालमा स्थानीय राम मिलन बर्माको पहलमा स्थापित विद्यालय सुरुमा ब्यक्तिगत घरबाट संचालित थियो । पछि २०१६ सालमा यसले स्वीकृति पाएको हो । २०३६ साल असार १० गते तत्कालिन जिल्ला पंचायतले  विद्यालयलाई जग्गा उपलब्ध गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *