राष्ट्रिय सभाका लागि प्रदेश नं.५ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न, आजै नतिजा आउने

नेपालगन्ज–राष्ट्रिय सभाका लागि आज प्रदेश नं. ५ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सकिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश नं. ५ का १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ जना र प्रदेश सभाका ८७ सदस्य गरी ३ सय ५ जना मतदाता रहेको भए पनि दुई जना भने मतदानमा सहभागी नभएको बताइएको छ । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह र रुपन्देहीका सांसद विना पन्त रहनुभएको छ । दुबैजना संघीय समाजवादी फोरमका हुन् ।
राष्ट्रिय सभाका लागि ५ नम्बर प्रदेशबाट ८ जना निर्वाचित हुनुपर्नेमा तीन जना महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । एमालेका तर्फबाट रोल्पाकी मीना बुढा , दाङबाट कोमल वली र नेपाली कांग्रेसको तर्फबाट अनिता देवकोटा निर्विरोध भइसक्नु भएको छ ।
यस प्रदेशबाट अब पाँच जनाको सिटमा प्रतिस्पर्धा हुँदैछ । जसमा दलित सदस्यमा एमालेका रामलखन हरिजन र नेपाली कांग्रेसका मैकुलाल बाल्मीकीबीच प्रतिस्पर्धा हुँदैछ भने अन्य तीन सदस्यहरुमा एमालेका खिमलाल भट्टराई, माओवादीका चन्द्रबहादुर खड्का, नेपाली कांग्रेसका दुर्गाप्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपालीबीच प्रतिस्पर्धा हुँदैछ ।
यसैबीच प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम आज बुधबार नै राति १० बजेसम्म आउने भएको छ । तीन बजे मतदान सकिएपछि दलहरुसँग छलफल गरेर मतगणना सुरु गर्ने र १० बजेसम्म नतिजा दिने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *