–टोपेन्द्र रोका–
नेपालगन्ज–नेपालगन्जबाट दिल्ली सञ्चालन हुने बसलाई सिमास्थित नेपाली सुरक्षाकर्मीले सुरक्षा जाँचका नाममा हैरानी दिने गरेका छन् ।
जमुनाहदेखि चौलिका चोकसम्मको करिव तीन किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट चार स्थानमा जाँच हुने गरेको छ । छोटो दूरीमै पटक–पटकको जाँचले यात्रुलाई हैरानी हुने गरेको बस सञ्चालकहरुले गुनासो गरेका छन् ।
नेपाल प्रवेश हुनासाथ जमुनाह र सीमा प्रहरी चौकी जयसपुरमा नेपाल प्रहरी ,भन्सार र चौलिकामा सशस्त्र प्रहरीले बसमा सवार यात्रुलाई जाँच गर्ने गरेका छन् । यससँगै भन्सारका कर्मचारीले समेत आवश्यक सोधपुछ गर्दै आएको भेरी यातायात प्रा.लि.का अध्यक्ष राजेन्द्र गिरीले बताए ।
‘हामीले सुरक्षा जाँचको विरोध गरेका होईनौँ तर जमुनाहदेखि चौलिक्का चोकसम्म एउटै बसलाई पटकपटक जाँच गरेर यात्रुलाई हैरानी गर्नुभएन ।’–अध्यक्ष गिरीले भने–‘अलि व्यवस्थित र भरपर्दो सुरक्षा जाँच गर्नुप¥यो, जसबाट सुरक्षा निकाय र यात्रु दुवैलाई सजिलो होस् भन्ने हाम्रो धारणा हो।’
दिल्लीबाट नेपालगन्ज आउने बसलाई भारततर्फ रुपैडिहा भन्सार र सीमा सशस्त्र प्रहरी बलले दुई स्थानमा मात्र जाँच गर्ने गरेको छ । नेपालतर्फ सुरक्षा जाँचको लागि भन्दा पनि असुलीको लागि यात्रुलाई दुःख दिने गरेको यातायात व्यवसायीको गुनासो रहेको छ । ‘सय रुपैया हात पारिदिए जाँच हुँदैन नदिए प्रत्येक यात्रुलाई भुईमा झारेर खानतलासी हुन्छ।’–एक व्यवसायीले भने,–‘पटक पटक जाँच गराएर यात्रुलाई हैरानी दिनुभन्दा रुपैया दिएर बस अगाडि बढाउन चालक बाध्य हुने गरेका छन्।’
सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक सुधीर खड्काले भने नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा नियमित रुपमा दुईस्थानमा मात्रै जाँच गर्दै आएको दावी गरेका छन् ।दिल्ली–नेपालगन्ज सञ्चालन हुने बसबाट अवैध सामान समेत भित्रिने आशंकामा जाँच गर्नु परेको उनको भनाई रहेको छ ।
नेपालगन्जबाट भेरी यातायात प्रा.लि.ले दैनिक नेपालगन्ज–दिल्ली बस सञ्चालन गर्दै आएको छ। बर्दियामा प्रधान कार्यालय रहेको प्रा.लि.ले बर्दियाबाट दैनिक चारवटा सस्पेन्सन एसी बस काठमाडौका लागि सञ्चालन गर्दै आएको छ । बर्दियाबाटै सुर्खेत, दाङ र नारायणगढ दिवा सेवा सञ्चालन गर्दै आएको समितिले निकट भविष्यमै नेपालगन्ज–हरिद्वार बस सेवा सञ्चालन गर्ने यौजना रहेको भेरी यातायात प्रा.लि.का अध्यक्ष गिरीले जानकारी दिए।