नेपालगन्ज–बघौडा क्षेत्रमा विद्युत पु¥याउन सञ्चालन गरिएको बघौडा–सोनारी ग्रामीण विद्युतीकरण परियोजनाको कामले २० वर्षपछि गति लिने भएको छ । परियोजना सञ्चालन भएको २० वर्षसम्म विद्युत शवस्टेशन भवनको निर्माण मात्रै भएको थियो ।
वि.सं. २०५४ मा शुरुवात गरिएको योजनाको दुई वर्ष भित्र विद्युत वितरण गर्ने उद्देश्य रहे पनि राप्ती सोनारी गाउँपालिकाकौ बैजापुर स्थित धामपुर गाउँमा विद्युत शवस्टेशन भवन निर्माण वाहेक अन्य निर्माण कार्यले गति लिन सकेको छैन ।
परियोजनाको कार्यमा भएको ढिलासुस्ती वारे चासो लिदै बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश्वरजंग गहतराज र प्रदेश सांसद कृष्णा केसी नमूनाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालगन्ज स्थित विद्युतको क्षेत्रीय कार्यालय र ठेकेदार कम्पनीसँग निरन्तर छलफल गरेपछि निर्माण कार्यले गति लिनै आशा गरिएको हो ।
सांसद गहतराजले परियोजनाको कामलाई तिव्रता दिनको लागि आफूले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । उनले एकमहिना भित्रै हुलाकी सडकमा पोल गाड्ने र तार तान्ने काम सुरु हुनेगरी तयारी भएको दावी गरे। ठेकेदार कम्पनीले आवश्यक उपकरण खरिद गरिरहेको उनको भनाई रहेको छ । ‘हिजोको दिनमा जे भयो भयो, अब बघौडाबासीलाई विद्युत दिनुपर्छ ।’–सांसद गहतराजले भने–‘अव परियोजनाको काम कार्वाहीवारे नियमित अनुगमन र चासो रहने छ ।’
राप्तीपारीका बैजापुर, विनौना, फत्तेपुर, गंगापुर, मटेहिया, लक्ष्मणपुर, नरैनापुर, कालाफाँटा र कटकुईयामा विद्युतीकरणको लागि झण्डै २० वर्ष अघिदेखि परियोजना सुरु भएको हो । धामपुरस्थित शवस्टेशनको कार्य पनि सन्तोषजनक रुपमा अगाडि बढ्न सकेको छैन। बघौडा विद्युतीकरण परियोजना र हुलाकी सडक प्रत्येक निर्वाचनमा उम्मेदवारको एजेण्डा बन्दै आएको छ । हालै सम्पन्न भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत उम्मेदवारले यसलाई प्रमुख एजेण्डा बनाएर मत मागेका थिए ।