नेपालगन्ज–बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालनमा रहेका ३ वटा औषधि पसलमा औषधि व्यवस्था विभागले तालाबन्दी गरेको छ । मापदण्ड विपरित सञ्चालनमा रहेका उक्त पसलहरुलाई औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको टोलीले शिलबन्दी गरेको हो ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसहित सरोकारवालाहरुको टोलिले राँझा, नेपालगन्ज मेडिकल कलेज र भेरी अञ्चल अस्पताल अगाडि सञ्चालनमा रहेका औषधी पसलमा शिलबन्दी गरेको थियो ।
औषधि व्यवस्था विभागको निर्देशन अनुसार नै ३ वटा पसलहरुमा शिलबन्दी गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले जनाएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ नेपालगन्ज मेडिकल कलेज अगाडि सञ्चालनमा रहेको दर्शन मेडिकल २१ दिन, वडा नम्बर २० राँझाचौकमा सञ्चालनमा रहेको पवन मेडिकल १५ दिन र वडा नम्बर १३ भेरी अञ्चल अस्पताल अगाडि सञ्चालनमा रहेको हेल्थ स्टार फार्मेसी ३० दिनको लागी बन्द गरिएको शाखा प्रमुख निनु श्रेष्ठले जानकारी दिइन् ।
विभिन्न समयमा गरिएका अनुगमनका ती पसलहरुमा सुचिकृत नभएका औषधि विक्रीवितरण, व्यवसायी अनुपस्थित भएको पाइएकाले कारबाही स्वरुप शिलबन्दी गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक यादव प्रसाद ढकालले बताए ।
दर्शन मेडिकलमा मुल्य भन्दा बढी औषधि बिक्रीवितरण, व्यवसायी अनुउपस्थित रहेको, पवन मेडिकलमा सुचिकृत नभएका औषधि विक्रीवितरण गरेको र हेल्थ स्टार फार्मेसीमा सुचिकृत नभएका औषधि विक्रीवितरण तथा व्यवसायी अनुउपस्थित रहेको भन्दै शिलबन्दी गरिएको हो ।