प्रदेश नम्बर ३ को एमाले संसदीय नेतामा डोरमणी पौडेल

प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणी पौडेल विजयी हुनु भएको छ । पौडेलले  दलको चुनावमा ५८ मत खसेकोमा ३४ मत पाएर विजयी हुनुभयो । प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गर्नुभयो ।

नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुनुहुन्छ । २ पटक नगरपालिकाको नेतृत्व गर्नुभएको उहाँले हेटौंडालाई देशमै नमुनालायक हुने गरि विकास गर्नुभएको विशलेषण गरिएको छ ।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुनु भएको थियो ।

काठमाडौंको तत्कालिन फर्पिङ्ग गाविसमा वि.स. २००२ साल चैत १५ गते जन्मिनु भएको उहाँको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो । मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणीले मानविकी संकायमा स्नातक ९बी. ए. सम्मको औपचारिक अध्ययन गर्नुभएको छ ।

विसं २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गर्नुभएको उहाँले २०३६ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको थियो । उहाँले २०३२ देखि १० वर्ष शिक्षक भएर शिक्षण समेत गर्नुभएको थियो ।

लामो समय अर्धभूमिगत जीवन बिताउनुभएको उहाँले २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बस्नु भएको थियो । चारपटक कैद सजाय तोकेर जेल पर्नुभएको उहाँले १८ पटक प्रहरीको हिरासतमा बस्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *