काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिमा कसैसँग सम्झौता नगर्ने बताउनु भएको छ ।
अध्यक्ष ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकोले अब देशको प्राथमिकता विकास र समृद्धि भएको बताउनु भएको छ । अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नु भएको छ ‘निर्वाचन मार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि कसैसँग पनि सम्झौता गर्दैनौं।’
नेपाली समाजका लागि ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीहरुबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिनु भएको छ । ‘धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भहरु हुन,’ अध्यक्ष ओलीको भनाइ छ, ‘धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।’
महाशिवरात्रि हिन्दूहरपर्व भए पनि सबै धार्मिक समुदायले उत्तिकै श्रद्धा गरेको उल्लेख गर्दै उहाँले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताउनु भएको छ ।