बुटवल — बामगठबन्धका तर्फबाट प्रदेश ५ को सभामुखका लागि नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अर्थात् वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले माओवादी केन्द्र प्रदेश नं ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमीश्वर ढकालको समर्थनमा उम्मेदवारी गरेका गराउनु भएको हो ।
रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश नं ५ को सभामुखको उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्र संसदीय दलको बैठकले दुई दिन अगाडी मात्र गरेको थियो ।
संसद्मा वाम गठबन्धनको बहुमत छ । ७८ सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन् । संसद्को तेस्रो शक्ति काँग्रेस र अरु दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् । वाम गठबन्धनबाट उम्मेदवारी दिनुभएका घर्ती सभामुखमा एकल उम्मेदवार हुने र सर्वसम्मत निर्वा्चित हुने अवस्था देखिएको छ ।
नेपाली कांग्रेसका सांसद वीरबहादुर रानाले कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताउनु भयो । काँग्रेसले अहिलेसम्म संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन । उहाँले वाम गठबन्धनको स्पष्ट बहुमत रहेको र आफूहरुले सरकार बनाउने सम्भावना नरहेकाले दलको नेता र सभामुखको उम्मेदवारीमा कुनै निर्णय नभएको बताउनु भयो ।
उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गरिने प्रतिक्रिया दिनु भयो उहाँले प्रदेश नं ५ लाई समृद्ध बनाउन सबै दललाई एकैसाथ लिएर अघि बढ्ने बताउनु भएको छ ।