बाँकेका निर्माण व्यवसायीलाई चुनावी चटारो, आजदेखि १७ औं साधारणसभा तथा ८ औं अधिवेशन

नेपालगन्ज–बाँके निर्माण व्यवसायी संघको १७ औं साधारणसभा तथा ८ औं अधिवेशन आजदेखि नेपालगन्जमा सुरु हुने भएको छ ।
साधारणसभाको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णुभाई श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नेतृत्व समेत परिवर्तन हुनेभएकोले निर्माण व्यवसायीलाई चुनावी चटारो लागेको छ ।
अध्यक्षमा अहिलेका अध्यक्ष जितेन्द्रबहादुर हमाल र उपाध्यक्ष टेकबहादुर खड्काबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
वरिष्ठ उपाध्यक्षमा अहिलेका महासचिव लिलाराज उपाध्याय र राघव शाहले इच्छा जाहेर गरेका छन् भने महासचिवमा भूपाल ओली र दिनकर भट्टराई, सचिवमा पूर्णबहादुर राना र सन्दिपजंग शाह, कोषाध्यक्षमा सुनिलप्रकाश शाह र कुञ्जीलाल बर्माको उम्मेदवारी चर्चा रहेको छ ।
१७ सदस्यीय कार्यसमितिमा १५ जना निर्वाचित, निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र एकजना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको महासचिव लिलाराज उपाध्यायले बताए ।
उनका अनुसार आज उद्घाटन र बन्दसत्र सम्पन्न हुने र भोली आईतवार नयाँ नेतृत्व चयन हुनेछ ।
बाँके निर्माण व्यवसायी संघमा २ सय २३ सदस्य आवद्ध रहेका छन् । बाँके निर्माण व्यवसायी संघको अधिवेशनलाई केन्द्रीय नेताहरुले समेत चासो लिएका छन् ।
केन्द्रीय महाधिवेशन आगामी जेठमा हुने भएकोले आफ्नो प्रचारप्रसारको लागि पनि बाँके निर्माण व्यवसायी संघको अधिवेशनमा केन्द्रीय अध्यक्ष सहित महासचिव रामशरण देउजा, उपमहासचिव बिष्णु बुढाथोकी, कोषाध्यक्ष रोशन दाहाल, सह–कोषाध्यक्ष नरहरी थपलिया, प्रदेश ५ का संयोजक मेघजंग शाह पनि सहभागि हुँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *