बाँके । हात्तीपाइले रोग निवारणका लागि आठौं पटक बाँकेमा आजदेखि औषधि सेवन कार्यक्रम सुरु भएको छ । बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइले रोगका विरामी रहेको र बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ ।
जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काका अनुसार आजदेखि सुरु भएको आमऔषधि सेवन अभियान अन्तरगत यस वर्ष ५ लाख ३५ हजार ७९७ जनालाई हात्तिपाइलेको औषधि खुवाउने लक्ष्य राखिएको छ ।
अभियान अन्तरगत २ देखि ५ वर्ष उमेर समूहका ३४ हजार ६८८, ६ वर्ष देखि १४ वर्ष उमेर समूहका १ लाख १२ हजार ८९० जना र १५ बर्षमाथिका ३ लाख ८ हजार २१९ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका अनुसार अभियान सञ्चालनका लागि जिल्लाभर ३४६ जना स्वास्थ्यकर्मी, २ हजार ३०० जना स्वास्थ्य स्वयंसेवक खटाइएको छ । ५ वटा आरआरटी टोली परिचालन गरिएको छ । अभियानका क्रममा विरामी फेला परेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अञ्चल अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको जनस्वास्थ्य प्रशासक खड्काले जानकारी दिए ।
उहाँका अनुसार जिल्लाभर अभियानका लागि नगरपालिकामा ९९१ बुथ तोकिएको छ । लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै जनस्वास्थ्य प्रशासक खड्काले भन्नुभयो, ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने बिषयमा व्यापक प्रचार गर्नु आवश्यक छ ।’ मानिसलाई नडराइ औषधि सेवन गर्न जनस्वास्थ्य कार्यलयले यस अघि नै विभिन्न आमसञ्चारका माध्यमबाट प्रचार प्रसार पनि गरिरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले वि.सं. २०७४ कात्तिकमा गरेको प्रि–टास सर्भे अनुसार जिल्लामा १३ प्रतिशत हात्तीपाइलेका विरामी रहेका छन् । जुन सर्भेलाई आधार मान्ने हो भने बाँके जिल्ला अझै उच्च जोखिममा देखिएको छ ।
हात्तीपाइले रोग निवारणका लागि बर्षेनी एक करोडको हाराहारीमा खर्च हुने गर्छ । तर बाँके जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ ।
वि.सं.२०६७ देखि सुरु गरिएको अभियानको पहिलो वर्ष ९१ प्रतिसतले हात्तिपाइलेको औषधि सेवन गरेकोमा पछिल्ला बर्षहरुमा यो संख्या घटेको जनस्वास्थ्यको तथ्यांक छ ।
तथ्यांक अनुसार सबैभन्दा कम २०६८ मा ५३ प्रतिशतले मात्रै औषधि सेवन गरेका छन् भने २०६९ मा ६६ प्रतिशत, २०७० मा ७३ प्रतिशत, २०७१ मा ७५ प्रतिशत, २०७२ मा ६७ प्रतिशत र २०७३ मा ७३ प्रतिशतले औषधि सेवन गरेका छन् । जनस्वास्थ्य कार्यालयले यस वर्ष सतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य राखेको छ ।
जनस्वास्थ्य कार्यालयले दुइबर्ष नपुगेका बालबालिका, र्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्ष भन्दा बढि उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका ५ बर्षमूनिका बालबालिकालाई औषधि सेवन नगर्न अनुरोध गरेको छ ।