नेपालगन्ज–बाँके निर्माण व्यवसायी संघको नयाँ नेतृत्वको लागि अहिले नेपालगन्जमा मतदान सुरु भएको छ । सर्वसहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो ।
अध्यक्षमा अहिलेका अध्यक्ष जितेन्द्रबहादुर हमाल र उपाध्यक्ष टेकबहादुर खड्काबीच प्रतिष्पर्धा हुने भएको छ ।
वरिष्ठ उपाध्यक्षमा अहिलेका महासचिव लिलाराज उपाध्याय र राघव शाहले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा भूपाल ओली र दिनकर भट्टराई, सचिवमा पूर्णबहादुर राना र सन्दिपजंग शाह, कोषाध्यक्षमा सुनिलप्रकाश शाह र कुञ्जीलाल बर्मा र सह–कोषाध्यक्षमा नरेशबहादुर शाही र अव्दुल रसिद सिद्दीकीको उम्मेदवारी दर्ता भएको छ ।
१७ सदस्यीय कार्यसमितिमा १५ जना निर्वाचित, निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र एकजना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ।
बाँके निर्माण व्यवसायी संघमा २ सय २३ सदस्य आवद्ध रहेका छन् । संघको अधिवेशनलाई केन्द्रीय नेताहरुले समेत चासो लिएका छन् । १७ औं साधारणसभा तथा ८ औं अधिवेशनको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णुभाई श्रेष्ठले हिजो उद्घाटन गरेका हुन् ।