अतिक्रमित जमिन नियन्त्रणमा लिदै आदर्श मावि, निर्माणाधिन खैलमैदानमा सुरु भयो वडास्तरीय खेलकुद

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा स्थित आदर्श माविको नाममा रहेको गायत्रीनगरको अतिक्रमित जग्गामा डोजर चलाएर खेलमैदान बनाएपछि मंगलवारदेखि वडास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
वडा कार्यालयको सक्रियतामा जिल्लास्थित प्रहरी प्रशासनको सहयोगमा विद्यालयले तीन दिनसम्म डोजर सञ्चालन गरेर खेल मैदान तयार गरेको थियो। खेल मैदान बनाउन स्थानीयले अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रहरी प्रमुख टेकबहादुर तामाङ मैदान निर्माणस्थलमा पुगेर विद्यालयको जमिनमा अस्थायी टहरा बनाएर बसेकाहरुलाई अर्को व्यवस्था नहुञ्जेल घर नभत्काउने र खेल मैदान बनाउन स्थानीयले सहयोग गर्ने मौखिक सहमति भएपछि खेलमैदान बनाउन सम्भव भएको वडा नं. २० का वडाअध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।
खेलकुद प्रतियोगिताको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले एक समारोहका बीच उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष ओलीले आगामी वर्ष आदर्श मावि राँझालाई एउटा क्षेत्रीय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मा दिने आश्वासन दिएका छन् ।
वडा कार्यालयको सहयोगमा आदर्श माविको आयोजनामा निर्माणाधिन खेलमैदानमा मंगलवारदेखि वडा नं. २० रहेका ६ वटा सामुदायिक विद्यालयको सहभागितामा वडास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको विद्यालयका प्राचार्य प्रकाश आचार्यले जानकारी दिए । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा वडा नं. २० का दुई मावि, एक आधारभूत र तीन प्राथमिक विद्यालयको सहभागिता रहेको छ ।
निरन्तरको प्रयासपछि प्रहरी प्रशासनको सहयोगमा विद्यालयको खेलमैदान निर्माण गरी आफ्नै खेलमैदानमा वडास्तरीय खेलकुद प्रतियोगिता गर्न पाउँदा विद्यालय व्यवस्थापन समिति समेत उत्साहित भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश बर्मा (चिन्टु)ले विद्यालयको नाममा रहेको जग्गा अव क्रमिक रुपमा प्राप्त गरेर क्याम्पस सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिए ।
आदर्श माविको नाममा ७ बिघा बढि जग्गा भएको भएपनि हाल राझामा ६ कठ्ठा १२ धुरमा विद्यालय संचालनमा रहेको छ । राजमार्ग र विमानस्थल जाने बाटोको छेउको विद्यालय भएका कारण दुर्घटनाको जोखिम बढि रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चिन्टुले जानकारी दिए । विद्यालयका प्राचार्य आचार्यका अनुसार, गायत्रीनगरमा ३ विघा ७ कठ्ठा १४ धुर रहेकोमा करिब ४ कठ्ठामा भवन र शौचालय निर्माण भएको छ भने अधिकाँश जग्गा अतिक्रमणमा परेको छ ।
यसैगरी गयनपुरको एउटा कित्ताको ११ कठ्ठा १६ धुर र अर्को कित्ताको एक बिघा ७ कठ्ठा १५ धुर जग्गा पनि अतिक्रमणमा परेको छ ।
वडा नं.२० का वडाध्यक्ष कार्कीले अतिक्रमित जग्गा खाली गराउन खोज्दा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले सहयोग नगरेको बताए ।वडा अध्यक्ष कार्कीले विद्यालयको नाममा गायत्रीनगरको जग्गा अतिक्रमित गर्ने मध्ये अधिकाँशको अन्यत्र सम्पत्ति रहेको बताए । रात्री बस र अन्य स्थानमा ४–५ विघा जग्गाका मालिक भएकाहरु पनि राझामा सुकुम्बासीका नाममा विद्यालयको जग्गा अतिक्रमण गरेर बसेका छन्,– वडा अध्यक्ष कार्कीले भने,– तर विद्यालयका लागि अहिलेको स्थान सांघुरो भईसकेको छ । गायत्रीनगरमा हाल ८२ जनाले विद्यालयको नामको जग्गा अतिक्रमण गरेका छन् । आदर्श माविलाई बहुमुखी क्याम्पस बनाउने तयारी गरिएपनि जग्गा अतिक्रमणमा परेकै कारण समस्या उत्पन्न भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बर्माले बताए । २००९ सालमा स्थानीय राम मिलन बर्माको पहलमा स्थापित विद्यालय सुरुमा ब्यक्तिगत घरबाट संचालित थियो । पछि २०१६ सालमा यसले स्वीकृति पाएको हो । २०३६ साल असार १० गते तत्कालिन जिल्ला पंचायतले विद्यालयलाई जग्गा उपलब्ध गराएको हो ।
अस्थायी वसोवास गर्दै आएका स्थानीयले भने आफूमाथि अन्याय भएको गुनासो गरेका छन् । स्थानीय अगुवा शिवलाल शर्माले आफूहरु २०५२ सालदेखि बस्दै आएको ४ विगाह २ कठ्ठा १० धुर जमिन विद्यालयले जवर्जस्ती आफ्नो नाममा बनाएको आरोप लगाए । उनले आफ्नो अस्थायी घरटहराको क्षतिपूर्ति हुनुपर्ने र अन्यत्रै व्यवस्थापन नहुँदासम्म नछोड्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *