फिरौती रकम माग गर्ने व्यक्ति नेपालगन्जमा पक्राउ

नेपालगन्ज- उद्योगी व्यवसायी र निजी विद्यालय संचालकहरुलाई धम्किपूर्ण सन्देश पठाई फिरौती रकम माग गर्ने व्यक्तिहरुलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ ।
सुर्खेत लेखगाउँ–१ का ३२ वर्षीय विजयविक्रम शाह, बाँकेको राप्ती सोनारी–५ घर भई हाल नेपालगञ्ज–४ मा बस्दै आएका ३२ वर्षीय केश राज भण्डारी, चितवन भरतपुर महानगरपालिका–६ का १८ वर्षीय विष्णु तिमिल्सेना र कुसल श्रेष्ठ, नेपालगञ्ज–८ का ५६ वर्षीय राजु भनिने अस्फाक सिद्धिकी र कोहलपुर–१२ का ४० वर्षीय रमेशप्रसाद अधिकारीलाई पक्राउ गरिएको हो ।
उनीहरुले अहिलेसम्म १० जना उद्योगी व्यवसायी र निजी विद्यालय संचालकलाई धम्किपूर्ण सन्देश पठाई रकम माग गरेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । उनीहरुले एउटै व्यक्तिलाई एक करोड २० लाख रुपैयाँसम्म माग गरी धम्काएको पाइएको छ । पीडितहरुले जिल्ला प्रहरी कार्यालय बाँकेमा फिरौती रकम माग गरिएको विषयमा मौखिक जानकारी गराएपछि अनुसन्धानमा खटिएको प्रहरीले नेपालगञ्जको घरबारीटोलमा रहेको होटलबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद तामाङले जानकारी दिनुभयो ।
सुर्खेतका शाह समूहका मुख्य योजनाकार हुन् । उनीहरुले उद्योगी व्यवसायीहरुलाई रकम माग गर्नका लागि मोबाइलबाट एसएमएस र फोन गर्ने गरेको पाइएको छ । आज जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक तामाङले भन्नुभयो– उनीहरुले उद्योगी व्यवसायीहरुलाई ठूलो मात्रामा रकम माग गरेको र नदिएमा घर परिवार समेतलाई ज्यान मार्ने धम्की दिने गरेको सूचना पछि प्रहरी टोली परिचालन भएको हो ।
पक्राउ परेका मध्ये भण्डारी नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसका अध्यापक हुन् । भण्डारीले साथी विजयविक्रमलाई परिचयपत्र विना नै सक्रिय भएका नमस्तेका १० र एनसेलका २ वटा सिम कार्डहरु उपलब्ध गराएको प्रहरीले जनाएको छ । १२ वटा सिम भए पनि उनीहरुले ९८६९६५९९४९ बाट मात्रै रकम माग गर्दै धम्कीपूर्ण एसएमएस पठाउने गरेका थिए ।
मुख्य योजनाकार सुर्खेतका शाह विज्ञान विषयमा स्नातकोत्तर उत्तिर्ण रहेको प्रहरीले जनाएको छ । शाह र कोहलपुरका अधिकारीबीच योजना बनेपछि साथी रहेका भण्डारीको सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ । कोहलपुरका उद्योगी व्यवसायीको बिवरण अधिकारीले शाहलाई उपलब्ध गराएपछि सामाजिक सञ्जालमार्फत चिनजान भएका भरतपुरका तिमिल्सेना र श्रेष्ठलाई कोहलपुर ल्याइएको पाइएको एसपी तामाङले बताउनुभयो ।
उनीहरुले सी कम्पनी र डी कम्पनीको नाममा बाँकेको नेपालगञ्ज, कोहलपुर र दाङका उद्योगी व्यवसायीलाई धम्की दिने गरेको पाइएको भन्दै प्रहरीले हालसम्म उद्योगी व्यवसायीबाट रकम बुझिलिएको नपाइएको जनाएको छ । पक्राउ परेकालाई संगठित अपराध निवारण ऐन अन्तरगत अनुसन्धान भइरहेको छ । प्रहरीले अनुसन्धानका लागि सुरुमा सिमका आधारमा व्यक्तिहरुलाई पक्राउ गरेको थियो । सीम नाममा भए पनि अपराधमा संलग्न नभएको पाइएपछि तत्कालै रिहा गरिएको थियो । होटल परिवर्तन गर्दै बस्दै आएका उनीहरु बुधबार ५ नम्बर प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीद्वारा पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *