जिम्बावेमा जारी आईसीसी एकदिवशीय विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । यस अघिका दुई खेलमा पराजित भएको नेपाल र तीन खेलमा पराजय ब्यहोेरेको अफगानिस्तान आज प्रतियोगिताको पहिलो जितको खोजीमा छन् ।
टेष्ट मान्यता प्राप्त अफगानिस्तानका सुपरस्टार बलर रशिद खानले पहिलो पटक कप्तानी संहालेको यस प्रतियोगितामा उसले निकै खराव प्रदर्शन गरेको छ । प्रतियोगिताको समूह बीबाट सुपरसिक्समा पुग्नका लागि आजको खेल दुवै टोलीका लागि उत्तकै महत्वपूर्ण छन् ।
नेपाल र अफगानिस्तानबीचको खेल बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा हुनेभएको छ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
यसअघिका दुवै खेल नेपालले क्वीन्स स्पोर्टस क्लबको मैदानमा खेलेको थियो भने नेपालका लागि यो पीन नौलो हो । पूर्व निर्धा्रित खेल तालिकाअनुसार यस खेल पनि क्वीन्स स्पोर्टस क्लबमै हुनुपर्ने थियो । तर, आईसीसीले सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा खेलमैदान परिवर्तन गरेको हो ।
अफगानिस्तान पहिलो पटक अन्तर्रा्ष्ट्रिय क्रिकेटमा आएदेखि नै नेपालको चीर प्रतिस्पर्धी हो । नेपालले आज अफगानिस्तानलाई हराएमा र अन्तिम खेलमा हङकङलाई पनि पराजित गरेमा सुपरसिक्समा पुग्नेछ । तर एक खेल हारेमा नेपालको सुपरसिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ ।
यता अफगानिस्तानले नेपाललाई हराएमा र हङकङ जिम्बावेसँग पराजित भएमा पनि नेपाल र हङकङको नतिजाले नेपालको सुपरसिक्सको सम्भावना बलियो बनाउनेछ । तर, हङकङलाई नेपालले बलियो रनरेटमा हराउनुपर्ने हुन्छ ।
नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म ७ पटक खेलेका छन् । सन् २००४ को एसीसी ट्रफीमा पहिलो पटक अन्तर्रा्ष्ट्रिय क्रिकेटमा आएको अफगानिस्तानलाई नेपालले ४७ रनले पराजित गरेको थियो । त्यसयताका ६ भेटमा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन ।