नेपालगन्ज–बाँके र बर्दियामा रहेको यातायात प्रालिहरु संगठित भएका छन्। हिजो नेपालगन्जमा बसेको प्रालिका पदाधिकारीहरुको वैठकले प्रालिहरुले स्वस्थ प्रतिष्पर्धा गर्दै एकद्वार प्रणालीमार्फत बस सेवा सञ्चालन गर्ने र प्रालिमा पुराना गाडी दर्ता नगर्ने लगायतका सहमति भएको छ ।
वैठकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रालिहरुलाई सदस्यता नदिएर सिण्डीकेट गर्न खोजेको समेत निश्कर्ष निकालेको छ । प्रालिहरुले सदस्यताका लागि महासंघमा पटक पटक निवेदन दिए पनि सदस्यता नदिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए ।
वैठकबाट बाँके बर्दियामा रहेका यातायात प्रालिहरुको व्यवसायीक एकता र हकहितको लागि राजेन्द्र गिरीको संयोजकत्वमा अजय पुन गोपाल, विश्वराज खनाल, पशुपति श्रेष्ठ सदस्य रहेको स्टेरिङ कमिटी समेत बनेको छ ।
यसैगरी एकआपसमा एकता गर्न चाहने प्रालिहरुलाई वातावरण निर्माण र संयोजनको लागि राजेन्द्र गिरीको संयोजकत्वमा ३ सदस्यीय समिति समेत बनेको छ । समिति सदस्यमा अजय पुन गोपाल र विश्वराज खनाल रहेका छन् ।