काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेको घटनाले सिंगो मानव सभ्यता लज्जित हुनुपरेको भन्दै कडा कार्वाही गर्ने प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुअघि सदनमा आफ्नो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलालीमा भएको घटनाप्रति कडा हुने घोषणा गर्नुभएको हो ।
बोक्सीको आरोपमा गरिएको ज्याद्धती अन्धबिश्वास र भ्रमको तमासा रहेको भन्दै प्रधानमन्त्रीले समाजमा चेतनाका लागि अझै थुप्रै काम गर्न बाँकी रहेको सन्देश पाइएको बताउनु भयो । ‘बोक्सीको आरोपमा गरिएको ज्याद्धती अन्धबिश्वास र भ्रमको तमासामा कलेज पढदै गरेकी एउटा निर्दोष बालिका परिन, उनीमाथिको अत्याचार हुँदा समाज तमासा हेरेर बस्छ, पीडितलाई छुटाउन उल्टै सहमति जनाउँछ, यो सिंगो मानव सभ्यतामाथिकै चुनौती हो, यस्ता कुरा अक्षम्य हुन,’ प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेकै दिन कैलालीमा भएको अमानवीय घटनालाई कसैले पनि प्रोत्साहन दिन नहुने बताउनु भयो ।