बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकार सञ्चालनमा लागि दुई तिहाई मत प्राप्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आइतबारको संसद् बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएका हुन् ।
८७ जना प्रदेश सभा सदस्य रहेको प्रदेश ५ मा मतदानबाट पोखरेलको पक्षमा ६६ मत आएको छ भने विपक्षमा १८ मत परेको थियो । पोखरेलको विपक्षमा कांग्रेस सांसद्ले मतदान गरे । एमालेको ४१ र माओवादीका २० गरी ६१ सांसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई ५ सांसद् रहेको संघीय समाजवादी फोरम र १ सांसद् रहेको राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरे । १९ सांसद् रहेको कांग्रेसका १८ जना सांसद् मात्रै सदनमा उपस्थित थिए ।
प्रदेश सभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुईवर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले व्यवस्था गरेको छ । यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा विश्वासको मत माग्दै प्रदेश समृद्ध बनाउने खाका सुनाएका छन्।
संसद्मा विश्वासको मतका लागि सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले १२ जिल्लाहरुको विकासका लागि अशिक्षा, गरिबी र पछौटेपन मुख्य चुनौती रहेको बताए। ‘हामी अब अधिकारको राजनीति गरेर समय फाल्ने अवस्थामा छैनौं , उनले भने,’राजनीतिक दल र नागरिक समाजको साथ लिएर यो प्रदेशलाई समृद्ध बनाउनका लागि योजनाहरु लिएर अघि बढ्नेछौं।’ संसद्मा झण्डै १ घण्टा समय लिएका उनले प्रदेशका उपमहानगरहरुलाई जोडेर महानगर बनाएर महानगर आधारित उत्पादन पकेटहरु निर्माण गर्ने बताए।
उनले शहरहरुको आफ्नै पहिचान स्थापित गर्ने बताउँदै हरेक शहरको मौलिकता झल्किने खालको आर्किटेक्चर तयार पारेर कार्यान्वयनमा ल्याउने बताए। उनले सम्बोधनका क्रममा प्रदेशका पर्यटकीय र ऐतिहासिक स्थलहरुको विशेषता उल्लेख गर्दै पहिचान र सम्भावनायुक्त प्रदेशको रुपमा विकास गर्ने बताए।
‘अहिले हामी आर्थिक विकासका हिसाबले चौथो स्थानमा छौं–उनले भने–हामी पहिलो नम्बरमा आउने गरी काम गर्नेछौं।’ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाउने बताउँदै उनले जनताको पूँजी परिचालन र निजी क्षेत्रको सहभागितामा विकासको यात्रामा अघि बढ्ने सुनाए।