रहेनन् बैज्ञानिक स्टेफेन हकिङ

विश्वका चर्चित बैज्ञानिक स्टेफेन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । प्राध्यापक हकिङका सन्तान लुसी, रोबर्ट र टिमले एक वक्तव्यमार्फत बुधबार बिहान क्याम्ब्रिजस्थित आफ्नै घरमा निधन भएको जानकारी दिएका हुन् ।

‘हाम्रा प्रिय पिता आज बित्नुभयो, हामी निकै दुःखी छौँ,’ उनीहरुले भनेका छन्, ‘उहाँ महान वैज्ञानिक र असाधारण मानिस हुनुहुन्थ्यो, जसको विरासत अझै धेरै वर्षसम्म जीवित रहनेछ।’

क्याम्ब्रिज विश्वविद्यालयले गनभिल्ल र किस कलेजमा उनीप्रति शोक व्यक्त गर्न चाहनेहरुका लागि शोकपुस्तिका राख्ने भएको छ । ८ जनवरी १९४२ मा जन्मेका हकिङलाई विरलै मात्रामा पाइने एएलएस नामक रोग लागेको थियो, जसका कारण उनी विस्तारै पक्षघातको शिकार बनेका थिए ।

स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल सम्बन्धी रहस्य पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ । उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।

हकिङ्गले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक–पटक बताउने गरेका थिए । ‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *