काठमान्डौँ-आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफको खेलमा आज सवा १ बजे नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुँदैछ। जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा हुने खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।
४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ। खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ।
सुपर ६ पुग्न असफल भएको नेपालका लागि एकदिवसीय मान्यताको सुनौलो अवसर छ। त्यसका लागि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ।
नेपालले पिएनजी विरुद्ध नयाँ मैदानमा प्रतिस्पर्धा गर्नेछ। मैदानको पहिलो इनिङको औसत स्कोर ३ सयको हाराहारीमा छ। त्यसैले जितका लागि ३ सय रन कटाउनेगरी खेल्नु जरुरी देखिन्छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावे विरुद्ध २ सय ६४ रन बनाएको थियो। त्यसपछिका ३ खेलमा नेपालले २ सय रन कटाउन सकेको छैन। पहिले ब्याटिङ गर्दा नेपालले स्कटल्यान्ड विरुद्ध १ सय ४९ र अफगानिस्तान विरुद्ध १ सय ९४ रन बनाएको थियो।
पिएनजीले समूह चरणमा चारै खेल हारे पनि ब्याटिङमा भने राम्रो प्रदर्शन गरेको थियो। टोनी उराले आयरल्यान्ड विरुद्ध शतक प्रहार गरेका थिए। युएई विरुद्धको पहिलो खेलमा १ सय १३ रनमा अलआउट भए पनि पिएनजीले आयरल्यान्ड विरुद्ध २ सय ३५ रन बनाएको थियो।