प्राविधिक जनशक्तिको अभावमा सोचेजति योजना कार्यान्वयन हुन सकेन

नेपालगन्ज- बाँकेका जनप्रतिनिधिहरु यो समयमा निर्वाचनका समयमा गरिएका प्रतिबद्धता पुरा गर्न तर्फ अग्रसरता देखाएका छन् । त्यसक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. २ कचनापुरका जनप्रतिनिधि निर्वाचनको बेला मतदातासामु गरेका प्रतिवद्धता कार्यान्वयन गर्न लागि परेका छन् । वडामा विकास निर्माण सँगसँगै गाउँमै रोजगार सिर्जना गर्नेसम्मका योजना अगाडी सारेका वडा अध्यक्ष मदन वली यतिबेला ती योजना कार्यान्वयनका लागि प्रयासरत रहेका छन् ।

यो आर्थिक वर्षमा वडामा विकास निर्माणका २८ योजना अगाडि सारिएको छ । राप्ती सोनारी गाउँपालिकाकै ठूलो योजना २ किलोमिटर सडक पक्की गर्ने योजना यसै आर्थिक वर्षमा हुँदैछ । १ करोड ४० लाख बजेटमा पूर्व–पश्चिम राजमार्गको जिरोबाट भित्र जाने सडकको टेण्डर हुँदैछ । धेरै योजना कार्यान्वयन भईसक्नु पर्नेमा प्राविधिक जनशक्तिको अभावमा सोचेजति योजना कार्यान्वयन हुन नसकेको वडाअध्यक्ष वलीको गुनासो रहेको छ । प्राविधिकको अभावमा कतिपय योजना स्टिमेट समेत गर्न नसकिएको उनले बताए ।

सडक निर्माणले मात्रै विकास हुन नसक्ने भएकोले वडामा स्वास्थ्य शिक्षा र रोजगारमूलक कार्यक्रम पनि सँगसँगै अगाडि बढाईएको अध्यक्ष वलीले जानकारी दिए ।
खासगरी कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गर्न व्यवसायीक कृषि, पशुपालन, सीपमूलक तालिम लगायतका विषयलाई प्राथमिकता दिई वडावासीलाई उत्पादनसँग जोड्न प्रयत्नशिल रहेको उनले बताए । वडाको विकासको लागि राजनीति भन्दा माथि उठेर सबैसँग समन्वय र सहकार्य गरीरहेकोले राजनीतिक दल लगायत सबै क्षेत्रबाट सहयोग भईरहेको अध्यक्ष वलीले जानकारी दिए ।

यसैगरी २० वर्षदेखिको जनप्रतिनिधिको अभावलाई जानकी गाउँपालिका वडा नं.४ खजुराखुर्दका जनप्रतिनिधिले सम्वोधन गरेका छन् । २० वर्षसम्म हुन नसकेका जनताको प्रत्यक्ष सरोकारका कामहरु यतिबेला धमाधम हुन थालेका छन् । सडक निर्माण, ग्राभेल, नाली निर्माण लगायत सामाजिक सुरक्षाका योजनाहरु समेत वडा कार्यालयले एकसाथ अगाडि बढाएको छ ।

वडा कार्यालयले चालु आर्थिक वर्षको लागि २९ वटा योजना तय गरेको वडा अध्यक्ष विसरामकुमार बर्माले जानकारी दिए । २० वर्षसम्म जनप्रतिनिधि नहुँदा अवरुद्ध भएका विकास निर्माणलाई पूरा गर्न यो वर्ष आफूले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको वर्माले बताए । यद्धपि स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाईका योजनालाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाई छ ।

वडामा विनियोजन भएको १ करोड ७ लाख ५९ हजार मध्ये १ करोड २ लाख भन्दा बढी रकम विकास निर्माणका योजनामा छुट्टाईएको छ । अधिकांश योजनाका उपभोक्ता समिति निर्माण भईसकेको र कतिपयको बन्ने तयारी भईरहेको वडा कार्यालयले जनाएको छ । चारमहिनाभित्र वडामा आएको सबै बजेटको योजना पास गरी फर्छौट गरिसक्ने दावी वडाध्यक्ष बर्माको छ ।

उपभोक्ता समितिले आफ्नै वडा र टोलको काम आफ्नै ठानेर धमाधम गरीरहेकोले योजना गुणस्तरीय बन्ने र समयमै सकिने अपेक्षा वडा कार्यालयले गरेको छ । विकास निर्माणका कार्यमा वडाका सबै राजनीतिक दललाई मिलाएर अघि बढेकोले सबैबाट सहयोग मिलेकोले योजना पनि समयमै सम्पन्न हुने अध्यक्ष विसरामकुमार वर्माले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *