नेपालगन्ज- बाँकेको नेपालगन्जबाट शुक्रबार एकजना कैदीबन्दीले प्रहरीको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेका छन् । जवरजस्ती करणी मुद्दामा जिल्ला कारगार बाँकेमा विगत एक बर्षदेखि सजाय काटिरहेका २६ बर्षीय बसिर साईले प्रहरीको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेका हुन् ।
शुक्रबार बिहान हर्नियाको उपचारका लागि भेरी अन्चल अस्पतालमा लगिएको साईले प्रहरी जवान शिव भुसालको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए । तर धेरै प्रहरीको निगरानि भएकोले उनि भाग्न सकेका छैनन् ।
‘बिहान १० बजेतिर अस्पताल लगिएको साईले सौचालय जान्छु भनेको र सौचालयबाट फर्किने वित्तिकै ढोकामा उम्भिएका प्रहरी जवान भुसालको आँखामा खुर्सानी फालेर भागेका थिए’ जवान भुसाललाई उद्दृत गर्दै एसपी तामाङले भने ।
जवानलाई खुर्सानीको धुलो फालेर भागेपनि अस्पताल परिसरमा सुरक्षा निगरानी कडा भएका कारण उनको योजना प्रहरीले विफल पारेको तामाङले बताए । भागे लगत्तै साईलाई प्रहरी र अस्पतालमा रहेका मानिसहरुले अस्पताल परिसरबाटै पक्राउ गरेको बताइएको छ ।
आँखामा खुर्सानी लागेर घाइते भएका प्रहरी जवान भुसालको आँखा अस्पतालमा उपचार गरिएको छ । जानकी गाउँपालिका गनापुरका साईले २०७३ फागुन १४ गतेदेखि १० बर्ष कारागार सजाय काटिरहेका छन् ।