विश्व प्रेस स्वतन्त्रता दिवस बाँकमा चियापान गरी मनाईयो

बाँके । आज विश्व प्रेस स्वतन्त्रता दिवस बाँक लगायत देशै भर विभिन्न कार्यक्रम गरी मनाईएको छ । बाँकेमा दिवसको अवसरमा बिहिवार नेपाल पत्रकार महासंघ बाँकेले चियापान तथा छलफल कार्यक्रम गरी मनाएकोे छ ।

महासंघको सभाहलमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारले अझैं पनि काम गरेको सञ्चार माध्यमबाट समयमै पारिश्रमिक नपाउने समस्या रहेकाले पत्रकार महासंघले अब कानूनी रुपमा वकालत गर्नुपर्ने बताएका छन् ।

महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, शुक्रऋषि चौलागाईं, निवर्तमान अध्यक्ष रुद्र सुवेदी,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य भेषराज बस्नेत लगायतले आफ्ना विचार राखेका थिए ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईने गरिन्छ । नेपालमा यो दिवस सन् १९९६ बाट मनाउन थालिएको हो । यो वर्ष दिवस ‘शक्तिको निगरानीः मिडिया, न्याय र विधिको शासन’ भन्ने नाराका साथ मनाइएको छ ।