बाँकेमा काम नगर्ने दुई ठेकेदार पक्राउ

बाँके ।  तोकिएको समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई बाँके प्रशासनले पक्राउ गर्न थालेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रशासनले उनीहरुलाई पक्राउ गर्न थालेको हो ।

त्यस्तै विकास निर्माणको काममा लापरवाही गर्ने ठेकेदारहरुको सूची प्रशासनले तयार गरेको छ । थप अनुसन्धानपछि उनीहरुलाई पनि प्रक्राउ गर्न सकिने जनाइएको छ । ठेक्का कबु्ल गर्ने तर निर्माणको काममा लापरवाही गर्ने ठेकेदारको नाम गृहले मागेको हो ।

प्रशासनको निर्देशनपछि भैरव अरबिन्द जेभी नेपालगन्जका भरत शाह र नेपालगन्जकै अर्का ठेकेदार रामाश्रै यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

शाहले राप्ती सोनारी गाउँपालिका सैयापुरमा सडक निर्माण र खजुरा गाउँपालिकास्थित किरण नालामा पुल निर्माणका लागि ठेकका कबुल गरेका थिए । तर ठेक्काको समयावधि सकिएपछि पनि काम पूरा नगरेको भन्दै उनलाई पक्राउ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

त्यस्तै यादवले नेपालगन्ज उपमहानगरपालिकाको उदयपुरमा कालोपत्रेको काम कबुल गरेका थिए । गत वर्ष नै सक्नु पर्ने काम चालु आर्थिक वर्षमा पनि सम्पन्न नभएको भन्दै प्रकाउ गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले गृह मन्त्रालयको निर्देशनपछि काममा लपारवाही गर्ने ठेकेदारलाई पक्राउ गरिएको बताए । उनका अनुसार पक्राउ गरिएका दुई जना ठेकेदारहरुविरुद्व मुद्दा चलाउन आईतबार म्याद थप गराइएको छ ।       -Kantipur-