नेकपाले बनायो प्रदेश र जनसंगठनबीच एकता गर्न तीस ओटा छुट्टाछुट्टैकार्यदल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश, जनवर्गीय संगठन र जिल्ला संगठन कमिटीको एकता टुंग्याउन ३० कार्यदल बनाएको छ । आगामी तीन महिनाभित्र प्रवाससहित आठ प्रदेश र २२ जनवर्गीय संगठनबीचको एकता सम्पन्न गर्न छुट्टाछुट्टै कार्यदल गठन गरिएको हो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले केन्द्रीय कमिटीको पहिलो बैठकमा नै आगामी तीन महिनाभित्र मातहतका सवै कमिटी र जनवर्गीय संगठनको एकीकरण सम्पन्न गरिसक्ने घोषणा गरेका थिए । सोहीअनुसार सचिवालय बैठकले एकताको विधि र मापदण्डसहित प्रदेश र जनवर्गीय संगठनको एकताका लागि छुट्टाछुट्टै कार्यदल बनाउने निर्णय गरेको हो ।

निर्णयलाई दुवै अध्यक्षले अन्तर पार्टी निर्देशन ९अपानि० जारी गरेका छन । अपानिअनुसार स्थानीय पार्टी कमिटीहरूको एकता÷एकीकरणका लागि इञ्चाज, सहइञ्चार्ज रहेको कार्यदल बनाइएको छ । जसअनुसार प्रदेश–१ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमारी काफ्ले, प्रदेश–२ मा सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह, प्रदेश–३ मा अष्टलक्ष्मी शाक्य, हितमान तामाङ, काशीनाथ अधिकारी र नारायण दाहाल रहेका छन् ।

यस्तै प्रदेश–४ मा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी, प्रदेश–५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन, प्रदेश–६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा, प्रदेश–७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी सदस्य रहेका छन् । यस्तै प्रवासमा नारायणकाजी श्रेष्ठ, बिन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

कार्यदल सदस्यबहेक जिल्ला संगठन कमिटीका लागि पदाधिकारी, सदस्य र सचिवालय सदस्यको नाम सिफारिस गर्ने बैठकमा साविकका एमाले र माओवादी केन्द्रका जिल्ला कमिटी इञ्चार्ज तथा अध्यक्षलाई समेत कार्यदल सदस्यको हैसियतमा सहभागी हुने व्यवस्था गरिएको छ ।

कार्यदललाई प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरूको नामावलीसहितको प्रस्ताव तयार गर्ने, सचिवालय गठनका लागि कुल सदस्य संख्याको बढीमा एकतिहाई सदस्यको नामावलीसहितको प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको छ । प्रदेश संगठन कमिटी गठनसम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटी सदस्यको नाम समावेश गर्न नपाइने, कमिटीका पदाधिकारी तथा सदस्यहरूको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउन निर्देशन दिइएको छ ।

जनसंगठनको एकताका लागि पनि छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ । जसअनुसार नेपाल टे«ड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ एकता गर्न विष्णु रिमाल, जयपुरी घर्ती, बिनोद श्रेष्ठ र गणेश रेग्मी, किसान महासंघ र किसान संघ क्रान्तिकारीबीच एकता गर्न बामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ सदस्य रहेका छन ।

यस्तै महिला संघ एकता कार्यदलमा राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापा मगर, युवासंघ–वाइसिएलमा मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा, अनेरास्ववियुमा रबिन्द्र अधिकारी, हितमान शाक्य, नविना लामा र रञ्जित तामाङ सदस्य रहेको कार्यदल बनाइएको छ ।

यसैगरी जनसांस्कृतिक महासंघ एकताका लागि मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ र राष्ट्रिय मुक्ति मोर्चा संगठनहरूको महासंघबीच एकता गर्न पुथ्वीसुब्बा गुरुङ, देवप्रसाद गुरुङ, सुरेश आले मगर र गोकुल घर्ती, लोकतान्त्रिक मधेसी संगठन र मधेसी राष्ट्रिय मुक्ति मोर्चाबीच एकताका लागि मातृका यादव, रघुवीर महासेठ, जगदीश कुशैयर र रामकुमार शर्मा रहेको कार्यदल गठन भएको छ ।

यस्तै मुस्लिम इत्तेहाद र मुस्लिम मुक्ति मोर्चाबीच एकता गर्न सराज अहमद फारुखी, हकिकुल्ला खाँ, जुनैद अन्सारी र अतहर हुसेन, नेपाल उत्पीडित जातीय मुक्ति मोर्चा र दलित मुक्ति मोर्चा एकता गर्न बोमबहादुर विश्वकर्मा, तिलक परियार, जीतु गौतम र दलजीत श्रीपाली, नेपाल बुद्धिजीवी परिषद् र अखिल नेपाल बुद्धिजीवी संगठनबीच एकताका लागि दीनानाथ शर्मा, विश्वनाथ प्याकुरेल, प्रेमल खनाल र दयाराम बस्याल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन र भूतपूर्व सैनिक संगठन, पूर्वजनमुक्ति सेना संघबीच एकता गर्न चक्रपाणि खनाल, धनबहादुर चन्द, हरि राई र जीवनबहादुर बुढा रहेको कार्यदल गठन गरिएको छ ।

यसैगरी प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकता गर्न योगेश भट्टराई, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल, मानवअधिकार लाइन्स र अखिल नेपाल मानवअधिकार संगठन, काउराष्ट्र नेपालबीच एकता गर्न विजय सुब्बा, मीनबहादुर शाही, विष्णुपुकार श्रेष्ठ र दिनमणि पोख्रेल सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

यस्तै लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन, अखिल नेपाल क्रान्तिकारी अपांग संघ र जनक्रान्ति घाइते तथा अपांग योद्धा संघबीच एकता गर्न टोपबहादुर रायमाझी, कर्ण थापा, पुरुषोत्तम पौडेल र शिव कोइराला, प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसियसन नेपालबीच एकता गर्न वर्षमान पुन, रघुजी पन्त, रमण श्रेष्ठ र रुद्र नेपाल सदस्य रहेका छन् ।

यस्तै नेपाल भूमिहीन सुकुम्बासी संगठन र अखिल नेपाल सुकुम्बासी संगठनबीच एकताका लागि हरिबोल गजुरेल, रामप्रित पासवान, शत्रुघ्न महतो र दीपक थापा, नेपाल उद्योग तथा व्यवसायी महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघमा मुकुन्द न्यौपाने, कुलबहादुर केसी, भरत श्रेष्ठ र श्याम पाठक सदस्य रहेको कार्यदल बनेको छ ।

यस्तै पेसागत तथा प्रगतिशील इञ्जिनियरिङ एसोसियसन नेपाल र नेपाल राष्ट्रिय इञ्जिनियरिङ संगठनबीच एकीकरणका लागि गोकर्ण बिष्ट, पम्फा भुसाल, डा. हरिराम पराजुली र शम्भुबहादुर श्रेष्ठ तथा प्रवासी नेपाली संघ र अखित भारत नेपाली एकता मञ्च एकताका लागि तिल विश्वकर्मा, लोकनाथ भण्डारी, लक्ष्मण पन्त र ईश्वरी भण्डारी सदस्य रहेको कार्यदल बनाइएको छ ।

नेकपा केन्द्रीय सचिवालयका एक नेताका अनुसार महासंघ अन्तर्गतका घटक संगठनबीच एकताका लागि छलफल गर्दा सम्बन्धित घटक संगठनका इञ्चार्ज र अध्यक्षलाई समेत कार्यदल सदस्यकै हैसियतमा सहभागी गराउने निर्णयसहितको निर्देशन जारी गरिएको छ ।

जनसंगठन एकताका लागि बनाइएको कार्यदललाई एकीकरणपछि गठन हुने सम्बन्धित जनसंगठनको विधान मस्यौदा गर्ने, विधानमा पार्टीको वैचारिक तथा राजनीतिक नेतृत्व स्वीकार गर्ने र संगठनात्मक रूपमा आ–आफ्नो विधानको आधारमा सञ्चालित हुने कार्यादेश दिइएको छ ।

यस्तै कमिटीको पदाधिकारी र सदस्य छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउने, सिफारिस गर्नूपूर्व सम्बन्धित जनवर्गीय संगठनका विद्यमान केन्द्रीय कमिटीमा रहेका सदस्यको पनि सुझाव लिने, आफ्नो केन्द्रीय कार्यालयका सम्बन्धमा प्रस्ताव तयार गर्ने र १५ दिनभित्र सम्पन्न गरी केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ ।

सबै कमिटी र जनसंगठन एकताका लागि बनेको कार्यदलले आपसी सहमतिका आधारमा तोकिएको कार्यादेश पूरा गरी प्रतिवेदन बुझाउनसमेत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले निर्देशन दिएको छ ।