प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले कायम मुकायम रहेका दीपकराज जोशीलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारीस गरेको छ। कानुन मन्त्री शेरबहादुर तामाङले परिषद्को बैठकले जोशीको नाम सिफारीस गरेको बताए। उनले अब गठन हुने संसदिय समितीले अनुमोदन गरेमा जोशी प्रधानन्यायाधीश नियुक्त हुने बताए।

‘परिषद्बाट जोशी जीको नाम सिफारीस भएको छ, संसदिय समितीले अनुमोदन गरेपछि नियुक्ती प्रक्रिया सुरु हुनेछ,’ मन्त्री तामाङले भने। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका बिषयमा भने अर्को बैठकमा छलफल हुने बताए।

न्याय परिषद्ले सिफारीस गरेका सर्वोच्चका वरिष्ठतम तीन न्यायाधीशमध्येका वरिष्ठ जोशी प्रधानन्यायाधीश सिफारीस भएका हुन्। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा पछि गत चैत ५ मा जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हालेका थिए।

जोशी सर्वोच्चको न्यायाधीशमा २०७२ फागुन १८ मा नियुक्त भएका हुन्।