छोराको बारेमा पहिलोपटक बोलिन् बिन लादेनकी आमा

एजेन्सी । छोरा मारिएको सात वर्षपछि अल–कायदा समूहका नेता ओसामा बिन लादेनकी आमाले पहिलो पटक सार्वजनिक रूपमा बोलेकी छन्। ओसामाकी आमा आलिया गनेमले साउदी अरेबियाको जेद्दाहस्थित आफ्नो घरबाट ब्रिटिश पत्रिका द गार्जियनलाई अन्तर्वार्ता दिएकी हुन्।

आफ्नो छोरा एक लजालु र ’असल बच्चा’का रूपमा हुर्किए पनि विश्वविद्यालयमा उनको विचारमा ’सम्पूर्ण रूपमा परिवर्तन ल्याइएको’ गनेमले पत्रिकालाई बताएकी छन्। परिवारले अमेरिकामा हमला गर्नुभन्दा दुई वर्षअघि अर्थात् सन् १९९९ मा अन्तिम पटक ओसामालाई देखेको बताएको छ। उनले आफ्नो छोरा जिहादी भएको थाहा पाएपछि आफू र आफ्नो परिवार निकै निराश भएको बताएकी छिन्। उनले छोरा त्यस्तो नहोस् भन्ने चाहेको समेत बताइन्। अध्ययनका बेला आफ्नो छोरा संलग्न हुन पुगेको मुस्लिम ब्रदरहुड समूह त्यतिबेला एउटा ’पन्थ’ को रूपमा रहेको उनले बताइन्।

निर्माणसम्बन्धी व्यवसायमा अत्याधिक सम्पत्ति आर्जन गरेपछि परिवार साउदी अरेबियामा बिन लादेनको परिवार निकै प्रभावशाली भएको बताइन्छ। बुवा मोहम्मद बिन अवाद बिन लादेनले ओसामाको जन्म भएको तीन वर्षपछि गनेमसँग सम्बन्ध विच्छेद गरेका थिए। सेप्टेम्बर ११ को घटनापछि साउदी अरेबियाको सरकारले उनीहरूको परिवारमाथि अनुसन्धान गर्‍यो र उनीहरूको हिँडडुल सीमित पारिदियो। साउदी सरकारले ओसामा बिन लादेनकी आमासँग कुरा गर्ने अनुमति दिएको पत्रकार मार्टिन चुलोभले बताएका छन्। ओसामाका दुई भाइ हसन र अहमदले पनि द गार्डियनलाई अन्तरवार्ता दिएका छन्।