पहिरोले खाने पानीको पाइप बगायो, ५ सय घर खानेपानीबाट बञ्चित


अविरल वर्षाले पहिरो गए पछि सल्यानमा सयौँ परिवार खानेपानीबाट बञ्चित भएका छन्। पहिरोले खानेपानीको पाइप बगाउँदा छत्रेश्वरी गाउँपालिकाका झिम्पेको तारुपारे, लेखपोखराको महानेटा, मैनेरी, सेतामारे, पोखरा, दियार गाउँ, पाखापानीका करिब ५ सय घर खानेपानीबाट बञ्चित भएका हुन्।

छत्रेश्वरी गाउँपालिका–४ झिम्पे खर्सुबासबाट वडा नम्बर ५ लेखपोखरा ल्याइएको खानेपानीको पाइप अविरल वर्षासँगै गएको पहिरोले बगाएको हो। डोबरा खोलामा राखेको पाइप पहिरोले बगाएपछि खानेपानी अवरुद्व भएको खर्सुबास–लेखपोखरा खानेपानी आयोजनाका अध्यक्ष डिल्ली ओलीले बताए।

१६ पटा पाइप पहिरोले बगाएपछि खानेपानी सञ्चालन गर्न समस्या भएको ओलीको भनाइ छ। पाइप बगाएपछि त्यस क्षेत्रका सर्वसाधरण खोला तथा कुवाको पानी खान बाध्य छन्। घर नजिकै खोला तथा कुवा नभएको ठाउँमा घण्टौँको दूरीमा गएर पानी ल्याउने गरेको स्थानीय शेरबहादुर बिकले बताए।