मुलुकमा राष्ट्रिय एकता र मेलमिलापको खाँचो छ : मुख्यमन्त्री पोखरेल (पूर्ण पाठ)

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मुलुकमा राष्ट्रिय एकता, सद्भाव, भातृत्व र मेलमिलापको खाँचो रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले भने, ‘मुलुकमा राष्ट्रिय एकता, सद्भाव, भातृत्व र मेलमिलापको खाँचो छ । त्यसका लागि समाजमा अनेकन भ्रम र अफवाह फैलाएर निहित स्वार्थ पूरा गर्ने गलत प्रवृत्तीको हावी भइरहेको छ । यसलाई निरुत्साहित गर्नु नै आजको आवश्यक हो ।’

राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा सम्भव भएको भन्दै मुख्यमन्त्री पोख्रेलले राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए । राजनैतिक स्थायित्वको यात्राले जगाएको आशा र विश्वासलाई सुशासनमार्फत् नागरिकको मन जित्न आवश्यक रहेको मुख्यमन्त्री पोख्रेलको भनाई थियो ।

नागरिकको लामो संघर्षबाट हरेक नागरिकले रैतीबाट सम्मानित नागरिकको हैसियत बनाउन सफल भएको भन्दै मुख्यमन्त्री पोख्रेलेल व्यक्ति भन्दा विधि सर्वोच्च हुने हुँदा लोकतान्त्रिक शासन व्यवस्थामा नै विधिलाई सर्वोपरि ठान्नुपर्ने बताए । ‘नयाँ संविधानले विधि र नागरिक सर्वोच्चतालाई स्थापित गरेको छ । हामी नेपाली नागरिकहरु यही संविधानका माध्यमबाट पहिलो पटक वास्तविक रुपमा सार्वभौमसत्ता सम्पन्न भएका छौं’, मुख्यमन्त्री पोख्रेलेल भन्नुभयो, ‘नेपाल राज्यको मालिक हामी आफै बन्न सफल भएका छौं ।’

नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको भन्दै मुख्यमन्त्री पोख्रेलले नयाँ संविधानले विगतका सामन्ती अधिराज्यका सबै अवयवहरुलाई अन्त्य गर्दै नयाँ र मौलिक ढंगको शासन व्यवस्थालाई स्थापित गरेको बताए । हाम्रो संविधानले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार प्रत्याभूत गरेको बताउँदै पोख्रेलले भने, ‘हाम्रो संविधान मौलिक अधिकार र नागरिक अधिकारका दृष्टिले विश्वस्तरमै समृद्ध संविधान बन्न पुगेको छ । लैंगीक समावेशीताका दृष्टिकोणले पनि हाम्रो संविधान समृद्ध बन्न पुगेको छ । अब हामीले संविधानलाई हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनशैली र पद्धतीका रुपमा स्थापित गर्नु आवश्यक छ ।’

यतिबेला संविधानवादतर्फको यात्रा राज्य र नागरिक दुवैको साझा संकल्पको विषय बन्नु आवश्यक रहेको भन्दै पोख्रेलेल सोही उद्देश्य अनुरुप आफूहरुले यस वर्षदेखि प्रदेश ५ मा संविधान दिवसलाई उत्सवका रुपमा मनाउन लागिरहेको बताए। ‘संविधानवादबाटै राजनीतिक स्थायित्व र सुशासनको आधारशीला खडा हुने हाम्रो विश्वास रहेको छ । संविधानले नागरिकको संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गरेको र त्यो उपलब्धीको जगमा टेकेर मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ दिशानिर्देश गर्न आवश्यक छ’, मुख्यमन्त्री पोख्रेलेल भने, ‘संघीय सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा र हाम्रो प्रदेशमा हामीले अघि सारेको समृद्ध प्रदेश र खुसी जनताको नारा सोही उद्देश्यतर्फ लक्षित छन् ।’

संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिकहरु विकास र समृद्धिको व्यग्र प्रतीक्षामा रहेको भन्दै मुख्यमन्त्री पोख्रेलले तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत संरकारको नेतृत्व सम्हालेदेखि संघीयताको राजनीतिक आधारशीला आधारभूत रुपमा खडा भएको बताए । कानुनी, प्रशासनिक र संरचनागत हिसावले संघीयतालाई व्यवहारमा कार्यान्वयन अझै बाँकी रहेको भन्दै उनले संविधानको मर्मलाई आत्मसात गर्दै आफूहरु प्रदेश ५ मा संघीयताको व्यवहारिक कार्यान्वयन गर्न अहोरात्र खटिइरहेको बताए ।
‘अहिलेसम्म हामी अधिकारमुखी राजनीतिक आन्दोलनमा होमिइरहयौं । अधिकारमुखी राजनीतिको दुश्चक्रका कारणले नै मुलुकले अस्थिरता र अविकासको अवस्थाबाट गुज्रनु परेको हो’, मुख्यमन्त्री पोख्रेलले भने, ‘अब अधिकारमुखी राजनीतिको दुश्चक्रबाट बाहिर आएर विकास र समृद्धिको जनआकांक्षालाई सम्वोधन गर्नुपर्दछ । नेपालको नयाँ संविधानले हामीलाई सोही बाटोतिर अघि बढ्न दिशानिर्देश गरेको छ ।’

राज्य बलियो नभई जनअधिकारले सुसज्जित संविधानले प्रत्याभूत गरेका मौलिक हकहरुको संरक्षण हुन नसक्ने भन्दै मुख्यमन्त्री पोख्रेलले भने, ‘आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’

मुख्यमन्त्री पोख्रेलको मन्तव्यको पूर्णपाठ

माननीय प्रदेश प्रमुख ज्यू । माननीय सभामुख ज्यू । माननीय मन्त्रीज्यूहरु । माननीयउपसभामुख ज्यू । माननीय मुख्यन्यायाधीश ज्यू ।
माननीय सभासदज्यूहरु । बुटवल उपमहानगरपालिकाका प्रमुख ज्यू । विभिन्न राजनैतिक दलका प्रमुख एंव प्रतिनिधिहरु ।
प्रदेश—५ का सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु । पत्रकार बन्धुहरु र उपस्थिति सम्पूर्ण जनसमुदाय, दाजुभाइ तथा दिदीबहिनीहरु ।

यस वर्ष हामीहरु संविधान दिवसलाई राष्ट्रको विशेष पर्वको रुपमा हर्सोल्लासका साथ मनाउन गइरहेका छौ । संविधान दिवसको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको लामो त्याग र बलिदानवाट नै हामीले यो ऐतिहासिक दिन पाउन सफल भएका हौ । म यस ऐतिहासिक अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

नेपाली जनताको लामो संघर्ष र बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको हो । नागरिकको लामो संघर्षबाट हरेक नागरिकले रैतीबाट सम्मानित नागरिकको हैसियत बनाउन सफल भएका हुन् । व्यक्ति भन्दा विधि सर्वोच्च हुन्छ । लोकतान्त्रिक शासनव्यवस्थामा नै विधिलाई सर्वोपरी ठानिन्छ । नयाँ संविधानले विधि र नागरिक सर्वोच्चतालाई स्थापित गरेको छ । हामी नेपाली नागरिकहरु यही संविधानका माध्यमवाट पहिलो पटक वास्तविक रुपमा सार्वभौमसत्ता सम्पन्न भएका छौ । नेपाल राज्यको मालिक आफै बन्न सफल भएका छौ ।

नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हो । नयाँ संविधानले विगतका सामन्ती अधिराज्यका सबै अवयवहरुलाई अन्त्य गर्दै नयाँ र मौलिक ढंगको शासन व्यवस्थालाई स्थापित गरेको हो । राज्यसत्ताका सम्पूर्ण अधिकार केन्द्रीकृत रहेको एकात्मक व्यवस्थालाई सधैका लागि अन्त्य गरी राज्यलाई जनताका बीचमा पुग्ने वलियो आधार नयाँ संविधानले तयार गरिदिएको छ । जनता र राष्ट्रका परिवर्तित आकांक्षालाई पुरा गर्न सकिने वलियो संविधानवादको आधार समेत तयार भएको छ ।

हाम्रो संविधानले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तहतप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार प्रत्याभूत गरेको छ । हाम्रो संविधान मौलिक अधिकार र नागरिक अधिकारका दृष्टिले विश्वस्तरमै समृद्ध संविधान वन्नपुगेको छ । लैंगिक समावेशीताका दृष्टिकोणले पनि हाम्रो संविधान समृद्ध वन्न पुगेको छ । अव हामीले संविधानलाई हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनशैली र पद्धतीका रुपमा स्थापित गर्नु आवश्यक छ । जब संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्दतिको रुपमा स्थापित हुन्छ, त्यसबेला आम नागरिकले लोकतन्त्रको सही अर्थमा रसस्वादन गर्न पाउँनेछन्, आफ्नै जीवनमा राजनीतिक परिवर्तनको सुखद अनुभूति समेत गर्न पाउँनेछन् । संविधानवाद तर्फको हाम्रो यात्रा हामी सोही दिशातर्फ अघि वढन संकल्परत छौ ।

यतिवेला संविधानवादतर्फको यात्रा राज्य र नागरिक दुवैको साझा संकल्पको विषय बन्नु आवश्यक छ । सोही उद्येश्य अनुरुप हामी यस वर्षदेखि हाम्रो प्रदेशमा संविधान दिवसलाई उत्सवका रुपमा मनाउन लागि रहेका छौ । संविधानवाद वाटै राजनीतिक स्थायित्व र सुशासनको आधारशीला खडा हुने हाम्रो विश्वास रहेको छ । संविधानले नागरिकको संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको र त्यो उपलब्धिको जगमा टेकेर मुलुकलाई विकास र समृद्धिको वाटोतर्फ दिशानिर्देश गर्न आवश्यक छ । संघीय सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा र हाम्रो प्रदेशमा हामीले अघि सारेको समृद्ध प्रदेश र खुसी जनताको नारा सोही उद्देश्यतर्फ लक्षित छन् ।

ऐतिहासिक संविधानसभावाट नयाँ संविधानजारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौ । संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिकहरु विकास र समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत संरकारको नेतृत्व सम्हालेदेखि संघीयताको राजनीतिक आधारशीला आधारभूत रुपमा खडा भएको छ । तर कानुनी, प्रशासनिक र संरचनागत हिसावले संघीयतालाई व्यवहारमा कार्यान्वयन अझै वाँकी छ ।

संविधानको मर्मलाई आत्मसातगर्दै हामी हाम्रो प्रदेशमा संघीयताको व्यवहारिक कार्यान्वयन गर्न अहोरात्र खटिइरहेका छौं । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन महत्वपूर्ण विषय हो । संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास समेत हामीले लिएका छौ ।

हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश,खुसी जनताको लक्ष्यका साथ योजनावद्ध ढंगले अघि बढ्ने कोशिस गरिरहेका छौ । यस वर्षलाई हामीले प्रदेशको आवधिक योजना तर्जुमा गर्ने र आवश्यक कानुनहरु निर्माण गर्ने वर्षका रुपमा अघि वढाउन लागि रहेका छौ । प्रदेशको विशेषतामा आधारित नीति, कार्यक्रम र बजेटका माध्यमवाट हामीले हाम्रो प्रदेशको विकास र समृद्धिको आधाशीला खडागर्ने कोशिस गरिरहेका छौ । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको वाटोवाट समाजवादको आधारशीला तयार गर्न सकिने मान्यता अंगिकार गरेको छ । संविधानले दिशानिर्देश गरे अनुरुप न्यायपूर्ण, समतामुलक र समृद्ध समाजनिर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझा लक्ष्य हो । हामी हाम्रो प्रदेशको विकास र समृद्धिको वाटोवाट संघीय सरकारको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्न कृत संकल्पित छौं । संविधान दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथदिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी र आमनागरिकमा हार्दिक अपिल गर्दछु ।
अहिले मुलुकमा राष्ट्रिय एकता, सद्भाव, भातृत्व र मेलमिलापको खाँचो छ । त्यसका लागि समाजमा अनेकन् भ्रम र अफवाह फैलाएर निहित

स्वार्थ पूरा गर्ने गलत प्रवृतिलाई निरुत्साहित गर्नु आवश्यक छ । राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न सकिदैन । राजनैतिक स्थायित्वको यात्राले जगाएको आशा र विश्वासलाई सुशासन मार्फत नागरिकको मन जित्न आवश्यक छ ।

अहिलेसम्म हामी अधिकारमुखी राजनीतिक आन्दोलनमा होमिइरहयौं । अधिकारमुखी राजनीतिको दुश्चक्रका कारणले नै मुलुकले अस्थिरता र अविकासको अवस्थावाट गुज्रनु परेको हो । अब अधिकारमुखी राजनीतिको दुश्चक्रवाट वाहिर आएर विकास र समृद्धिको जनआकांक्षालाई सम्वोधन गर्नु पर्दछ । नेपालको नयाँ संविधानले हामीलाई सोही वाटो तिर अघि वढ्न दिशानिर्देश गरेको छ ।

राज्य वलियो नभई जनअधिकारले सुसज्जित संविधानले प्रत्याभूत गरेका मौलिक हकहरुको संरक्षण हुन सक्दैन । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।
अन्त्यमा संविधान दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।